करबाकेली पदयात्रामा लेखकहरू

मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीलाई म्याग्दीको ‘करबाकेली इको टे«क’मा पदयात्रा गराइएको छ । स्थानीय करबाकेली बाबा संरक्षण समितिले उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व पहिचान गराएको हो ।

पर्यटन साहित्य यात्रा मार्फत करबाकेली क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले ‘करबाकेली काव्ययात्रा २०८०’ आयोजना गरिएको हो। पदयात्रीहरूले बेनी बजारबाट बाँसखर्क भएर अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडाको करबाकेली थानसम्म पहिलो दिन पदयात्रा गरेका थिए । दोस्रो दिन करबाकेली थानदेखि फूलबारीसम्म पदयात्रा गरेका थिए भने तेस्रो दिन फूलबारीबाट पुनहिल हुँदै घोडेपानी भएर उल्लेरीको उकालोसम्म हिँडेका थिए ।

काव्य यात्रामा प्रगति राई, प्रभा बराल, कुमारी लामा, अनुपम रोशी, अभय श्रेष्ठ, हेमन्त विवश, सागर उदास, रञ्जन राजभण्डारी, कृष्णगोपाल श्रेष्ठ, घनश्याम पौडेल, तारानाथ पहारी, दिनेशनारायण श्रेष्ठ, राजकुमार गजुरेल, भवानी शिलाकार, सुरेन्द्र राना मगर र चामबहादुर पुनसहित १८सहभागी थिए ।

बेनी बजारमा युवा उद्यमी राजेश शाक्य, बेलबहादुर कटुवालल गायत स्थानीयले स्वागत गरेका थिए । बाँसखर्क र करबाकेली थानमा पनि गाउँलेले भव्य स्वागत गरेका थिए । करबाकेली थानमा पुगेको भोलिपल्ट बिहान काव्ययात्रीले करबाकेली क्षेत्रको सामाजिक विकास अभियानबारे अभियन्ता चामबहादुर पुन र रवी गर्बुजा पुनबाट जानकारी पाएका थिए ।

कार्यक्रममा काव्ययात्रीले आआफ्ना रचना र यात्रा अनुभूति सुनाएका थिए । गाउँको पुन समुदायले परम्परागत पुख्र्यौली नाच नाचेर पदयात्रीलाई मनोरञ्जन गराए ।

‘हाम्रो काव्ययात्रा धेरै उपलब्धिमूलक बन्यो’, काव्ययात्राका संयोजक एव्म सामाजिक अभियन्ता चामबहादुर पुन भन्छन्, ‘मुलुकका स्थापित व्यक्तित्वले करबाकेलीलाई नजिकबाट बुझाउन पाउँदा हामी खुसी छौ ं।’

बेलायती सेनाका रिटायर्ड लाहुरे यिनै चामबहादुरको अगुवाईमा करबाकेली क्षेत्रको कायाकल्प भएको छ। काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेली बाबाको थान, पुन समुदाय संग्रहालय, पाहुनाघर आदि निर्माण गरिएको छ । त्यसैगरी, पुनहिलबाट करबाकेली थान भएर बेनी जोड्ने पदमार्गलाई ‘करबाकेली इको टे«ेक’का रुपमा ब्रान्डिङ गर्ने अगुवा पनि चामबहादुर नै हुन् ।

उनीहरू कात्तिक १९ गते काठमाडौंबाट गाडीमा बेनी बजार पुगेका थिए भने कात्तिक २३ गते पोखराबाट गाडीमै काठमाडौं फर्केका छन् । उनीहरुले बीचमा तीन दिन पदयात्रा गरेका हुन् ।

पदयात्रीले अब विभिन्न मिडियामा लेख्ने यात्रा अनुभूति समेटेर एउटा पुस्तक प्रकाशन गरिनेछ भने यात्रालाई समेटेर वृतचित्रसमेत बन्नेछ ।