कोरला नाका २७ गतेदेखि खुला हुने

मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएको सुनाए ।

उनी भन्छन्, “लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।” नाका सञ्चालन भएपछि मुुस्ताङका बासिन्दाले दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, लत्ताकपडा लगायत सस्तोमा आयात गर्न पाउने छन् ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को असोज पहिलो साता भएको भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका सञ्चालनमा ल्याउने तयारी भएको जनाएको थियो । मुस्ताङ र चीनको स्वशासित क्षेत्र ढोङवासेनका जनप्रतिनिधि तथा सुरक्षा अधिकारीहरुबीच नाका सञ्चालन र व्यवस्थापनका विषयमा चार पटक वार्ता भएको छ ।

कोरोना महामारी फैलिएपछि वि।सं।२०७६ देखि कोरला नाका पूर्णरुपमा बन्द भएको थियो । त्यसअघिका वर्ष कोरला नाकामा वर्षमा २ पटक अन्तरदेशीय व्यापार मेला हुने गरेको थियो । उक्त नाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई ‘नेपाल चीन सीमाक्षेत्रमा प्रस्थानका लागि प्रवेश अनुुमतिपत्र’ वितरण गरिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त भन्छन्, “प्रवेश पास भएका नागरिकले जुुनसुुकै समयमा पनि चीन जाने आउने सुविधा पाउनेछन् । कोरला नाकाको नजिकै रहेको नेचुुङ भन्सार कार्यालयमा नियमित कर्मचारी उपस्थितिका लागि तयारी गरिएको छ ।”

सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरु नेपाली भूमि प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण वि।सं।२०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । वि।सं।२०५८ सम्म रोकतोक नरहेको सीमामा २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको छ ।