
भलाममा रहेको शृंखला क्लबले शनिबारदेखि आयोजना गरेको खुला सेभेन ए साइड फुटबल प्रतियोगिता जारी छ । ‘हाम्रो भलाम, राम्रो भलाम’ भन्ने उद्घोषका साथ क्रियाशील क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको यो आठौं शृंखला हो । आइतबार ६ खेल हुने छन् ।
शनिबार भएको पहिलो खेलमा रमाइलो एफसीलाई पाखा लगाउँदै शंखला ए ८–० ले विजयी बनेको छ । दोस्रो खेलमा टाइब्रेकरमा एकता युवा क्लबले जिपिटिओ एलाई पाखा लगाएको छ । अन्तिम खेलमा तिमिल्सिना एफसीले शृंखला युवा क्लब बिलाई पराजित गरेको छ । आइतबार ६ खेल हुने प्रतियोगिताका व्यवस्थापक रमेश केसीले जानकारी दिए ।
प्रतियोगितका विजेताले १ लाख ३१ हजार १ एक सय २१ र उपविजेताले ६५ हजार १ सय ६१ का साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । आठौं सेभेन ए साइड प्रतियोगिता संयोजक मीनबहादुर थापाले प्रतियोगितामा १३ लाख ५१ हजार २ सय ५२ आम्दानी र खर्च १० लाख ५६ हजार २ सय ८२ रुपैयाँ खर्च हुने सुनाए ।
गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा, प्रदेश सांसद विन्दुकुमार थापाले रेफ्रीलाई बल हस्तान्तरण गरी खेल सुरुआत गरेका थिए । मन्त्री सिम्खडाले खेलकुद र सामाजिक जागरणका लागि जनस्तरबाट काम गर्ने संघ, संस्थालाई मन्त्रालय सघाउने प्रतिवद्धता गरिन् ।
सांसद थापाले खेलकुदले युवालाई समृद्धि र समाजसँग एकाकार बनाउने जनाए । उनले खेलले अनुशासन सिकाउनेसहित देशकै प्रतिष्ठानसमेत बढाउने उल्लेख गरे ।
क्लब अध्यक्ष दिनेश बस्नेतले खेलमार्फत सामाजिक विकास र समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए । उनले खुट्टा तान्ने प्रवृत्ति छाडेर होस्टेमा हैसे गर्ने पाठ खेलकुद प्रतियोगिताले सिकाउने उल्लेख गरे ।
कार्यक्रममा क्लबका उपाध्यक्ष मोहन रावल र सचिव हरिश थापाले पनि बोलेका थिए । प्रतियोगिता आयोजनाका लागि विभिन्न उपसमिति सक्रिय छन् । मीनबहादुर थापाको संयोजकत्वमा प्रतियोगिता मुल आयोजक समिति गठन भएको थियो ।
निर्मल खत्रीको संयोजकत्वमा अर्थ संकलन उपसमिति, रमेश केसीको संयोजकत्वमा खेलकुद व्यवस्थापन उपसमिति, रामकाजी गौतमको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, मोहन रावलको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति, रविबहादुर लामिछानेको संयोजकत्वमा प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमिति, नारायण बास्तोलाको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, हरिश थापाको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमितिले प्रतियोगितामा काम गरिरहेका छन् ।
क्लबले आयोजना गरेको प्रतियोगिता २५ गते सकिनेछ । २०४३ मा स्थापना भएको शृंखला क्लब २०७२ मा शृंखला क्लबमा परिणत भएको हो । क्लबले खेलकुदसहित विभिन्न सामाजिक कामसमेत गर्दै आएको छ ।