अहिलेको सरकारको दिशा नै छैन: थापा

काङ्ग्रेस महामन्त्री गगन थापाले अहिलेका प्रदेशदेखि संघ सरकारसमेत दिशाविहीन बनेको आरोप लगाएका छन् । काड्ग्रेस महामन्त्रीका हैसियतमा सरकारको प्रतिरक्षा गर्नुपर्ने भए पनि आफू त्यस्तो गर्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

सत्ता गठबन्धनको निर्णय प्रक्रिया तीन नेताको क्लबको बैठक जस्तो भएको उनको टिप्पणी छ । राजधानीदेखि गाउँ गाउँसम्मका काङ्ग्रेस नेता, कार्यकर्ता निराश देखिएको, सुनिएको उल्लेख गर्दै उनले शनिबार बिहान पोखराका पत्रकारहरुमाझ उनले तीन तहकै सरकारमा हुँदा पनि निराश हुनु उदेकलाग्दो भएको जनाए ।

“सबैतिर हामी सरकारमा छौं । केही समयपछि सङ्घ सरकारको नेतृत्व पनि हाम्रै हुन्छ । सबैभन्दा दुःखी हामी नै छौँ किन ? यसको कारण पहिला घरभित्र खोज्दै छौ, अब हुने महासचिव बैठकमा,” महामन्त्री थापाले भने । आठ लाख ६६ हजार कार्यकर्ता भएको देशको सबैभदा पुरानो र सबैभन्दा ठूलो पार्टी काङ्ग्रेसलाई युगसापेक्ष बनाउन केही वैधानिक प्रावधान नै बदल्नुपर्ने उनी बताउँछन् ।

कोशी प्रदेशमा फरक गठबन्धनबाट सरकार बनेकोतर्फ इङगित गर्दै उहाँले त्यसको समाधान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाले निकाल्ने उल्लेख गरे । नेपालका दलहरुमा गठबन्धन सरकार सञ्चाल गर्ने संस्कार नै बस्न बाँकी रहेको जनाउँदै उनले चुनावअघिको गठबन्धन काङ्ग्रेसका लागि घातक बनेको दाबी गरे ।

“म जहाँ जहाँ पुगेँ, सबैतिर चुनावअघि गठबन्धन गर्नुहुन्न भन्ने आएको छ । निर्वाचनपछि सरकार बनाउन गठबन्धन सामान्य रहे पनि निर्वाचनकै बेला गठबन्धन गर्नै हुुँदैन,” उनले भने । कोरोनका कहरका बेला प्रदेश सरकारहरु चुकेको टिप्पणी गर्दै उहाँले शुक्रबार राति आएको भूकम्पमा जनतालाई सरकारको आभास दिलाउन आग्रह गर्नुभयो ।

शुक्रबार चार दिने पदयात्राबाट फर्किएका थापाले अबका वर्ष मर्दी पदयात्रा र एबिसी जाने योजना सुनाए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।