आन्तरिकलाई १००; विदेशीलाई ५०० प्रवेश शुल्क

कास्कीको माछापुच्छे गाउँपालिकामा पर्यटकीय पदमार्गहरु भ्रमण गर्दा शुल्क तिनुपर्ने भएको छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुल्क लगाउने निर्णय भएको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जारी गरेको विज्ञप्तीअनुसार गाउँपालिका प्रवेश गर्ने स्वदेशी पर्यटकका लागि १ सय र विदेशी पर्यटका लागि ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न, सूचना केन्द्र स्थापना गर्न, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका काम गर्न पर्यटन सेवा शुल्क लिन लागेको प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए । शुल्क लिनेबारे गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको उनले बताए ।

‘पर्यटकहरुको सुविधालाई ध्यानमा राखी गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ति जडान, फोहोर मैला व्यवस्थापन लगायतका सुविधाहरु निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गाउँ सभाको निर्णयानुसार पर्यटन सेवा शुल्क लिने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।