फिर्के अतिक्रमण गर्ने संरचना ३५ दिनभित्र हटाउन निर्देशन

फिर्केखोलाको बहाव क्षेत्रमा बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले सूचित गरेको छ । फिर्केखोलाको बहाव क्षेत्र (खोलघर) भित्र बनेका संरचना हटाउन महानगरले शुक्रबार ३५ दिने सूचना जारी गरेको हो ।

सूचनामा खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु पूर्ण रुपमा ३५ दिनभित्र हटाउन भनिएको छ । महानगरवाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी यकिन गरेको खोलाघरभित्र अस्थायी र स्थायी गरी एक सय ६० संरचना छन् ।
तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैंले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्वन्धित व्यक्ति वा संस्थावाट असुलउपर गरिने जनाएको छ ।

यसअघि पोखरा महानगरले गठन गरेको फिर्के सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेश गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्केखोला नै हराउने र प्राकृतिक विपत्ति तिम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ ।
१८ वटा संघ, संस्थाका स्थायी संरचना खोलाघर नै मिचेर निर्माण भएका छन् ।

कतिपय संरचना शतप्रतिशत खोला घरमा बनेका छन् भने कतिपय संरचनाको आंशिक भाग खोलाघरमा पर्छ । खोला मिचेर ९७ अस्थायी, ३५ स्थायी, १० संघ, संस्थाका अस्थायी र १८ संघ, संस्थाका स्थायी संरचना बनेको प्रतिवेदनमा उल्लेख छ ।

खोलाघरमै बनेका संरचनामा वडा, महानगर, प्रदेश र संघ सरकारले समेत लगानी गरेको देखिएको छ । खोला फोहोर फ्याँक्ने डम्पिङ जस्तो बन्दै गरेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने प्रतिवेदनले औंल्याएको छ ।

सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ पोल गाडेको छ । पोल गाड्न सम्भव नभएका ठाउँमा इनामेलले चिन्ह लगाइएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म एक महिना लगाएर फिर्के नापजाँच गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतिवेदन अनुसार पहिलो चरणमा खोलाघर खाली हुने र त्यसपछि फिर्केको नयाँ मापदण्ड बनाएर कार्यान्वयन जनाएका छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।