इलेक्ट्रोनिक्स व्यवसायीबिच शुभकामना आदानप्रदान

पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीले बुधबार सदस्यबीच शुभकामना आदान प्रदान गरेको छ । वडादसैं, तिहार, छठ लगायतका पर्वको सन्दर्भमा संस्थाले कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो ।

कार्यक्रममा संस्थाका प्रदेश अध्यक्ष उदयबहादुर केसीले निरन्तर बढ्ने बैंकको ब्याजले कठिन अवस्था सिर्जना भएको जनाए । उनले बैंक तथा वित्तीय संस्थाको दबाब झेल्दा हैरान व्यवसायीलाई महानगरले कर बढाएर आहात बनाएको आरोप लगाए ।

संस्थाका अध्यक्ष नारायण सुवेदीले मितव्यायी बनेर चाडपर्वन बनाउन र स्वास्थ्यको ख्याल गर्न आग्रह गरे । उनले महानगरले यसअघि १ हजारदेखि २८ सयसम्म रहेको नवीकरण शुल्क बढाएर ५ देखि १० हजार बनाउँदा व्यवसायी मर्कामा परेको उल्लेख गरे । ‘विश्वव्यापी आर्थिक संकटले थला परेका हामीलाई स्थानीय सरकारले राहत दिनुपर्नेमा उल्टै कर बढाएर आहत बनायो, अहिले आवाज नउठाए अर्काे साल पनि हाम्रो माग सम्बोधन हुँदैन,’ उनले भने ।

समारोहमा संस्थाका महासचिव चिन्तामणि खरेल जनपथ टोल विकास संस्थाको अध्यक्ष र सचिव होमविलास सापकोटा बारा पोखरा सम्पर्क समाजको अध्यक्ष निर्वाचित भएकोमा सम्मानसहित शुभकामना दिइएको छ । संघ कास्कीमा २ सय ८० इलेक्ट्रोनिक्स व्यवसायी सदस्य छन् । यसमा मोबाइल होलसेल र खुद्रा बिक्री, मर्मत, मोबाइल तालिम दिने कास्की जिल्लाभरिका व्यवसायी आवद्ध छन् ।