प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्ने दायित्व विश्व समुदायकै साझा भएकोमा जोड दिनुभएको छ । बुधबार मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले आयोजना गरेको जलवायु संवादमा प्रधानमन्त्रीले आफूले अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, “पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें ।” संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा पनि आफूले यसबारे कुरा राखेको उहाँले जनाउनुभयो ।
हिमालको संरक्षण नहुँदा विकसित मुलुकहरूसमेत सुरक्षित नहुने औंल्याउँदै उहाँले जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा भएकोमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।”
मुस्ताङलाई बहुआयमिक विशेषता बोकेको जिल्ला भन्दै उहाँले स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्वपूर्ण भएको जनाउनुभयो । मुक्तिनाथ लगायत धार्मिक एवं सांस्कृतिक पर्यटनका केन्द्रहरू भएको मुस्ताङको कोरला नाकाको विशेष रणनीतिक महत्व भएको उहाँको भनाइ छ । “तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ,” उहाँले थप्नुभयो । उहाँले जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड मुस्ताङ जिल्लामा पठाउने घोषणासमेत गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले बुधबार मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाका अवलोकन गर्नुभएको छ । करिब दुई महिनाअघि आएको समामयिक बाढीले कागबेनी श्राद्धस्थलसहित त्यहाँका घरहरु बगाएको थियो ।
कालीगण्डकी नदी बस्तीभन्दा माथि हुँदा मुस्ताङका कतिपय बस्ती जोखिममा छन् । मुस्ताङमा असमयमै बिहीबार हिउँ परेपछि यहाँको मौसम चिसो भएको छ ।
असमयमै हिउँ पर्नु, असमयमा बाढी आउनु जस्ता गतिविधि जलवायु परिवर्तका कारण देखिएको भन्दै स्थानीयहरु चिन्तित छन् । प्रधानमन्त्री दाहालको चीन भ्रमणका बेला कोरोला नाका खोल्ने सहमति भएको छ । त्यसका लागि उपल्लो मुस्ताङका २ पालिकाका बासिन्दालाई बोर्डर पास वितरण भइरहेको छ । चाडै नाका खुला हुने र अन्तरदेशीय मेला पनि लाग्ने आशमा उपल्लो मुस्ताङी छन् ।




