पोखराका मुख्य चोकमा ट्राफिक लाइट

देशकै ठूलो महानगर पोखराका मुख्य चोकमा यही वर्षभित्र ट्राफिक लाइट बल्ने भएका छन् । मुख्य चोकमा हाइमास्ट लाइट र बजार क्षेत्रमा स्मार्ट लाइटपछि महानगरमा झन्डै दुई दशकपछि ट्राफिक लाइट बल्न लागेका हुन् ।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले पोखराका ५ चोकमा ट्राफिक जडान गरेको छ । शाखाकी इन्जिनियर सिना अवाल जडानको काम करिब सकिएको र मंसिरभित्रै ट्राफिक लाइट बल्ने बताउँछिन् । विभागले पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किमी र विरौटाचोकमा लाइट राखेको छ । यी चोकमा लाइट राख्न विभागले करिब १ करोड ७३ लाख खर्चेको छ ।

यता, पोखरा महानगरले आफ्नै लगानीमा थप ५ स्थानमा ट्राफिक लाइट राख्दै छ । महानगरको सडक सुरक्षा शाखाका इन्जिनियर ध्रुव भट्टराईले राष्ट्रबैंक चोक, रत्नचोक, हेमजाको मिलनचोक, चिप्लेढुंगा र हल्लनचोकमा महानगरले लाइट राख्न लागेको जानकारी दिए । उनी भन्छन्, ‘यही वर्षभित्र सबै ट्राफिक लाइट सञ्चालनमा आउने छन् । महानगरले ५ ट्राफिक लाइटका लागि २ करोड विनियोजन गरी अहिले टेन्डर प्रक्रियामा छ ।’

०५८ तिर पार्किङको ठेक्का पाएको पिक्यापले पोखरामा राखेका ट्राफिक लाइट ०६२÷०६३ को आन्दोलनताका तोडफोड भएका थिए । केही चोकका लाइट त्यसअघि नै बिग्रिएका थिए । ती लाइटको सही व्यवस्थापन नहुँदा अहिलेसम्म ट्राफिक प्रहरीले हातैको इशाराले काम गर्नुपर्ने अवस्था छ । पोखरा महानगरका मेयर धनराज आचार्यले बढ्दो सवारी चाप व्यवस्थापन र महागनरका लागि आवश्यक पूर्वाधार निर्माणका लागि लाइट राख्न लागिएको बताए ।

उनी भन्छन्, ‘आगामी जनवरीभित्र सबै ट्राफिक लाइट सञ्चालनमा आउने छन् । ट्राफिक प्रहरी र महागनरको यातायात विभागले संयुक्त रुपमा यसको व्यवस्थापनको जिम्मा लिन्छन् ।’ पोखराका केही चोकमा ०५८ सालमा ट्राफिक लाइट राखिएका थिए । सभागृह, सिर्जनाचोक, महेन्द्रपुल, चिप्लेढुंगा चोकमा ट्राफिक लाइट थिए
तत्कालीन पोखरा उपमहानगरसँग पोखराको पार्किङको ठेक्का लिएको पिक्यापले ट्राफिक लाइट राखेको थियो । पछि ती लाइटमा प्रयोग हुने बिजुलीको बिलसमेत कसले तिर्ने भन्ने विवाद भएको थियो ।

पोखराको ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा २८ जनाको दरबन्दी छ । काजका सहित करिब एक सय जना ट्राफिकले कास्कीभरको ट्राफिक व्यवस्थापन संहालिरहेका छन् ।

जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख भानु शर्मा मुख्य चोकमा ट्राफिक लाइट बले ट्राफिक व्यवस्थापन निकै सहज हुने बताउँछन् । उनी भन्छन्, ‘ट्राफिक लाइट प्रयोगमा आइसकेपछि व्यवस्थापन सहज हुन्छ । जनशक्ति कम भए पनि हुन्छ ।

अहिले पृथ्वीचोकमा चार जना ट्राफिकले व्यवस्थापन गरिरहेका छन्, लाइट बलेपछि एक जनाबाटै काम हुन सक्छ ।’ दुई दशकअघि केही समय बलेको ट्राफिक लाइटबारे पोखरलीले भुलिसकेकाले फेरि यसबारे बुझाउनुपर्दा केही समय भने बढी जनशक्ति चाहिने उनको भनाइ छ ।

पोखरा महानगरमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग जोडिएका छन् । ती राजमार्ग हुँदै हिड्ने गाडीसहित पोखरा महानगरभित्रै चल्ने गाडीको व्यवस्थापन निकै चुनौतीपूर्ण छ । मुख्यचोकका आइल्यान्ड घटाइएको छ भने धेरै जसो सडकका सालिक सहिद तथा विभूति पार्कमा लगिएको छ । अझै आधा दर्जन चोकमा रहेका शालिकको व्यवस्थापन गर्न बाँकी छ ।