परीक्षाका बेला स्कुल बन्द गरी विद्यार्थी कार्यक्रममा

पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको समता शिक्षा निकेतनले परीक्षाका बेला विद्यार्थीलाई दिनभर सांस्कृतिक कार्यक्रममा सहभागी गराएको छ । बुधबार बिहान परीक्षा दिएका विद्यार्थी दिनभर पोखरा सभागृहमा आयोजित कार्यक्रममा सहभागी थिए ।

क्रियटिभ ब्रोडकास्टिङ प्लस नामको व्यक्तिगत फर्मले आयोजना गरेको कार्यक्रममा समताका संस्थापक उत्तम सञ्जेल सम्मानित हुँदै थिए । समता पोखराका प्रिन्सिपल उमेश रेग्मीले संस्थापक सम्मानित हुन लागेकाले विद्यार्थीलाई ल्याइएको दाबी गरे ।

कार्यक्रममा सहभागी विद्यार्थीले बुधबार बिहान परीक्षा दिएर आएको र भोलिसमेत परीक्षा रहेको बताएका छन् । प्रिन्सिपल रेग्मीले भोलि परीक्षा भए पनि यसले केही फरक नपार्ने उल्लेख गरे । विद्यालय पोशाकमै उपस्थिति विद्यार्थीले कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसमेत देखाएका थिए ।

समताले कक्षा ५ देखि मािथका सबै कक्षाका विद्यार्थीलाई पोशाकमै कार्यक्रमा ल्याएको थियो । यता, कार्यक्रमको आयोजक संस्था क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लसका सञ्चालक आइडी मिलन प्रतीकले यसबारे सोधिएको प्रश्नमा पत्रकारलाई दुव्र्यवहार गरेका छन् । उनले भने, ‘म पूर्वराष्ट्रपतिलाई ल्याउने हैसियतको मान्छे हुँ । पोखराका मेयर, पूर्वमुख्यमन्त्री लगायत कार्यक्रममा आउनुभएको छ । यस्तो कुरा गर्ने, सकेको गरे हुन्छ ?’

क्रियटिभले बेला बेलामा विशेष सम्मान कार्यक्रम आयोजना गर्ने गरेको छ । बुधबारको कार्यक्रममा समताका विद्यार्थीबाहेक अरु दर्शक मुस्किलले १ सय जना थिए । सम्मानितमध्ये प्रेमराजा महतले गीत सुनाएका थिए भने समताका केही विद्यार्थीले सांस्कृतिक प्रस्तुति राखेका थिए । यसअघिका शंखलामा पनि सम्मानका लागि बोलाएका कलाकारलाई गीत गाउन आग्रह गरेपछि उनीहरुले स्टेजबाट अस्वीकार गरेका घटना छन् । आइडी मिलन प्रतीक विभिन्न काण्डमा बेला बेलामा विवादमा आइरहन्छन् ।