पोखरा महानगरको रामघाटमा हिन्दू र बौद्ध धर्मावलम्बीका घाट छन् । दाहसंस्कार गर्न जानेको जमघट हुने यो क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् गर्नेहरु पनि भेटिन्छन् । रामघाट क्षेत्रमै व्यावसायिक खेती भएको छ भन्ने धेरैलाई पत्यार लाग्दैन । तर साढे दुई वर्षदेखि यहाँ व्यावसायिक ड्रागन फ्रुट खेती गरिएको छ ।
पुन जातीका मानिसहरुको साझा संस्था पुन समाज पोखराको व्यवस्थापनमा खेती गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमपट्टि सेती नदीनजिकको छ रोपनीमा लगाइएको ड्रागन फ्रुट अहिले बोटमै पाकेको छ । फार्ममा आउनेले बोटबाटै सात सय रुपैयाँ केजीमा ड्रागन किनिरहेका छन् ।
पुन समाजका कोषाध्यक्ष शेरबहादुर पहरे पुनले फोहोर फाल्ने गरिएको र झाडीले ढाकिएको जमिनमा अहिले रहरलाग्दो खेती देख्दा ऊर्जा भरिने बताउँछन् । उनी भन्छन्, “फोहोर फाल्ने डम्पिङ साइड बनेको झाडीले ढाकिएको ठाउँमा आफूले धेरै मेहनत गरी खेती गरेका हौँ ।” ड्रागन फ्रुट खेतीकी संयोजक राजकुमारी पुन २०७७ बाट सुरु भएको ड्रागन फ्रुट खेतीबाट आम्दानी हुन थालेको बताइन् ।
रोपेको १६ महिनादेखि यो फल्न थालेको हो । गाइभैंसीको मल हालेर अर्गानिक रुपमा फलाइएको रातो ड्रागन फ्रुटका लागि बजारको समस्या छैन । गत वर्षमा करिब ३ लाखको ड्रागन फ्रुट बेचेको समाजले यस वर्ष १० लाखको बेच्ले लक्ष्य लिएको छ । ४३ जनाले प्रतिव्यक्ति एक लाखका दरले रकम लगानी गरी ४३ लाखबाट खेती सुरु गरिएको हो ।
फार्ममा अहिले पाँच सय पिल्लरमा दुई हजार ड्रागन फ्रुटका विरुवा रोपिएका छन् । चितवनको गंगाश्री बहुउद्देश्यीय फार्म बिरुवा किनेर खेती सुरु गरिएको हो ।
ड्रागन फ्रुट राति फुल्ने हुँदा यसलाई ‘रातकी रानी’ समेत भनिन्छ । यो उष्ण हावापानीमा फल्ने कम क्यालोरी र बढी फाइबर भएको फलफूल हो । मेक्सिको र मध्य अमेरिकामा हुने ड्रागन अहिले विश्वभरिका उष्ण मौसममा खेती गर्न थालिएको छ ।




