मणिपाल शिक्षण अस्पतालमा सोमबार भएको घटनापछि मङ्गलबारबाट कास्कीका सबै अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् । मणिपालमा एक बिरामीको उपचारका क्रममा निधन भएपछि बिरामीका आफन्तले अस्पताल तोडफोड र चिकित्सकमाथि हातपात गरेका थिए ।
सँगसँगै शिक्षण अस्पतालमा रहेका इन्टर्न चिकित्सकसमेत झडपमा उत्रिएपछि सोमबार रातिसम्म स्थिति तनावगस्त रह्यो । मणिपालका निर्देशक कृष्णमोहन श्रेष्ठले आफूहरु वार्ताकै माध्यमबाट तनाव साम्य गर्न लागिपरेको जनाए । नेपाल चिकित्सक संघ गण्डकीका कार्यवाहक अध्यक्ष डा सुनील पनेरुले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म चिकित्सकहरु काममा नफिर्कने बताए ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लािग मणिपाल लगिएकोमा उपचारका क्रममा निधन भएको थियो । डाक्टरलाई हातपात गरेको आरोपमा पोखरा ५ का विनय गुरुङलाई सोमबारै प्रहरीले पक्राउ गरेको छ ।
कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले घटनामै संलग्न डा दिनेशकुमार विकलाई सोमबार पक्राउ गरिएकोमा मंगलबार बिहान रिहा गरिएको जनाए । कास्कीका दुई दर्जन बढी अस्पतालको सेवा ठप्प हुँदा बिरामी मर्कामा परेका छन् ।




