पोखरेली ट्याक्सी सेवा प्रालिको अध्यक्षमा शोभाकान्त पौडेल सर्वसम्मत भएका छन् । शनिबार पोखरामा भएको प्रालिको पाँचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको हो ।
वरिष्ठ उपाध्यक्षमा सूर्यबहादुर थापा, प्रथम उपाध्यक्ष रामजी घिमिरे, द्वितीय उपाध्यक्ष पूर्णबहादुर गुरुङ, महासचिव युवराज भट्टराई र कोषाध्यक्षमा सुरथ पौडेल चुनिएका छन् । सदस्यमा युवराज गुरुङ, मधुसुधन पौडेल, डिलबहादुर नेपाली, मदनकुमार सुनार र डुलबहादुर राना (विकास) निर्वाचित भएका छन् ।
कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले प्रालि स्थापनादेखि हालसम्मको यात्रामा सबैको साथ पाएको जनाए । सभामा सरोकारवालाले २० वर्षपछि सवारी विस्थापन गर्ने नीति अव्यवहारिक भएको गुनासो गरेका थिए । ट्याक्सी व्यवसायी भरतकुमार श्रेष्ठले सवारी उत्पादन नहुने देशमा यस्तो विस्थापनको नीति व्यवहारिक नहुने तर्क गरे ।
प्रालिको उद्घाटन सत्रमा गण्डकीका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीले पोखरामा सवारी व्यवस्थापन गर्न बाइपास निर्माण गर्नु जरुरी भएकोमा जोड दिए । उनले सार्वजनिक सवारी २० वर्षपछि विस्थापन गर्ने नीति परिवर्तन गर्ने अधिकार संघ सरकारमा रहेको र यसबारे प्रदेशहरुले ध्यानाकर्षण गराएको जनाए ।






