यसपालिको विश्व पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् आगामी बुधबार बनाइँदै छ । दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव हुने भएको छ ।
पोखरा पर्यटन परिषद्ले आइतबार पत्रकार सम्मेलन गरी महोत्सवसहित विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको जनाएको हो । गण्डकीको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औं विश्व पर्यटन दिवस मनाउने तय भएको छ ।
रेवान पोखराले आयोजना गर्ने मिनी सडक महोत्सव बाराही चोकदेखि खहरे चोकसम्म साँझ ५ बजेबाट सुरु हुनेछ । पोखराका पर्यटन सम्बद्ध संघ, संस्थाको छाता सङ्गठन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ महोत्सवमा नेपाल र भारतका विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने जानकारी दिए । महोत्सवले अन्तरिक तथा बाह्य पर्यटनलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ ।
दिवसको अघिल्लो दिन मंगलबार टान गण्डकीको आयोजनामा मार्गीदेखि पुम्दीकोटसम्म पदयात्रा आयोजना गरिने भएको छ । पदयात्रामा व्यवसायी, पर्यटक तथा सञ्चारकर्मी सहभागी हुने छन् । बुधबार बिहान नाट्टा गण्डकीको आयोजनामा वृक्षारोपण तथा रक्तदान हुनेछ । सोही दिन पर्यटकीय संघ, संस्थाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत सम्मान गर्ने तय छ ।
यो कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तव, भारतीय टुर अपरेटरसमेत सहभागी हुने भएका छन् ।




