पोखरामा अन्तर्राष्ट्रिय उडान र कोरला खुल्ने आश

भदौ १५ गते पोखरामा भएको सन्देशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरला नाका छिट्टै खुलाउन प्रयास गर्ने बताएका थिए । सँगसँगै पोखरा क्षेत्री अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट नियमित उडानबारे पनि केही न केही निर्णय हुने उनको आश्वासन थियो ।

प्रधानमन्त्री दाहालको चीन भ्रमणमा शनिबार पुगेका छन् । प्रधानमन्त्रीलाई पोखराका पोखराका उद्यमी, व्यवसायीले भ्रमणमा समेटिनुपर्ने एजेन्डा सुझाएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र कोराला खुलाउन प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका थिए ।

बारम्बार प्रधानमन्त्रीको आश्वासनपछि उत्तरी कोरला नाका खुला कि भन्ने आशा पलाएको छ । तिब्बत र मुस्ताङको सीमामा रहेको कोरला नाका बाह्रै महिना सञ्चालन भए गण्डकी प्रदेशको समृद्धिको ढोका खुल्ने पूर्वअध्यक्ष मुल्मी बताउँछन् ।

कोरला नाकामार्फत् त्रिदेशीय व्यापारिक सम्भावना खोज्न २०७३÷०७४ देखि राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक आयोजना थालिएको थियो । यो सडकमा अहिलेसम्म सात अर्बभन्दा बढी बजेट खर्च भइसकेको छ । उपल्लो मुस्ताङको ल नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) क्याम्प स्थापना गरिएको छ ।

लोमान्थाङ गाउँपालिकाको थुर्लुङफाँटमा नेपाली सेनाको क्याम्पसमेत निर्माण भइसकोको छ । नेचुङमा भन्सार, सुरक्षा लगायतको व्यवस्थाका लागि एक हजार रोपनी जग्गा प्राप्ति भई पूर्वाधार बन्दै छन् । चीनले नाकाको दशजगजा क्षेत्रमा आवश्यक भौतिक संरचना बनाइसकेको छ भने झोङ्वामा सुख्खा बन्दरगाह निर्माणसमेत अन्तिम चरणमा छ ।

केही साताअघि यही सडक हुँदै उच्चस्तरीय चिनिया टोली जोमसोम आएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणले कोरला नाका खोल्न योगदान सहयोग पुग्ने लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ बताउँछन् । “सडक तथा पूर्वाधार निर्माणमा जोड दिएर नाका चाडै खोल्नुपर्छ,” उनी भन्छन्, “प्रधानमन्त्रीको भ्रमणले आशा जगाएको छ । यो नाका खुल्दा नेपालकै आर्थिक विकासमा टेवा पुग्छ ।”

कोरोना सङ्क्रमणपछि अन्तरदेशीय अल्पकालीन व्यापार मेला पनि भएको छैन । यो मेला सञ्चालन नहुँदा उपल्लो मुस्ताङीले उत्पादित सामान बेच्न पाएका छैनन् । नाकाको तिब्बती भूमिमा बर्सेनि हुने मेला सन् २०२० देखि भएको छैन । मेलामा चीनबाट भेडाच्याङ्ग्रा, कृषि उपकरण, निर्माण सामग्री, लत्ताकपडा मुस्ताङीले किन्ने गर्थे । यार्सागुम्बा, पस्मिना र स्थानीय उत्पादन बेच्ने अवसर पनि मेला नै बन्थ्यो । प्रधानमन्त्रीको भ्रमणपछि अन्तरदेशीय व्यापार मेला फेरि सुरु हुने अध्यक्ष गुरुङको अपेक्षा छ ।