फिर्केमाथि नै छन् बोर्डिङ, स्कुल र कलेजका भवन

फिर्केखोलाको खोलाघर नापजाँचसम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको छ ।

फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन २०८० प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् । रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्निा ना–१८ छन् ।

फिर्केको खोलको बहाव क्षेत्र (खोलघर) मै पोखरा इन्जिनियरिङ कलेज(पेक), स्टेप बाइ स्टेप स्कुलसहित १ सय ६० संरचना देखिएका छन् । फिर्केखोला नै मिचेर ९७ अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ स्थायी प्रकृतिका संस्थागत संरचना देखिएका छन् ।

प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँच सहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको बताए । “यो प्रतिवेदनले खोलाघर माथीको अवस्था देखाइदिएको छ, यसको कार्यान्वयनका सम्बन्धमा महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय गर्नेछौँ, प्रमुख आचार्यले भने, सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरी ती संरचना हटाइनेछ ।” उनले विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने जनाए ।

उपप्रमुख मन्जुदेवी गुरुङले फिर्केखोला माथी बनेका संरचना हटाउने कार्यमा आमपोखरेलीको साथ र सहयोग रहने अपेक्षा गरिन् ।

प्रतिकूल मौषम र भौगोलिक कठिनाइका बाबजुत खोलाको खोला नापजाँच गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक वासुदेव पौडेलले बतए ।

पोखरा वडा नं.१८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको छ । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकिन गरिएको खोला घरको पश्चिम तर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सिमा स्तम्भ गाडिएका छन् ।

प्रतिवेदन अनुसार फिर्केखोलामाथि २५ पुल तथा कल्भर्ट छन् । टोलीले एक महिना लगाएर खोलघर नापेको हो । फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहोर तथा सिसा र बिषाक्त रसायनका कारण प्राणीसंकटमा पर्नुका साथै मानव जीवनमा समेत घातक असर भइरहेको प्रतिवेदनले औंल्याएको छ ।

खोला फोहोर फ्याँक्ने डम्पिङ बन्दै भएकाले तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनले देखाएको छ ।

खोला छेउमा रहेका सार्वजनिक तथा पर्ति जग्गा निरन्तर अतिक्रमण भई भविष्यमा आइपर्ने कुनै पनि प्रकारका विपत्तिमा सुरक्षाका लागि आवश्यक पर्ने खाली स्थानको अभाव हुने अवस्था देखाइएको छ । यो क्षेत्रमा भौतिक निर्माण तत्काल रोक्का गरी सचेतना सहितका सरसफाई अभियान सञ्चालन गर्न पनि प्रतिवेदनले सुझाएको छ ।

विभिन्न स्थानमा पार्कहरु निर्माण गर्न, आवतजावतका लागि सहज पहुँचमार्ग बनाउन, ठाउँ ठाँउमा चेकड्याम निर्माण गर्न, खोला आसपासमा ग्रिन जोनहरु विकास गरी पैदल तथा साईकल ट्रयाक बनाउनु उचित हुने प्रतिवेदनमा उल्लेख छ ।

यसअघि पनि बारम्बार फिर्केको नाँपजाँच भए पनि अतिक्रमण हटाइएको छैन । उल्टै फिर्के राजनीति गर्ने थलो बनेको छ । फिर्केको खोलाघरपछि १० मिटर मापदण्ड छ । यो मापदण्ड लागू भए खोलघरमा बनेका भन्दै तेब्बर बढी संरचना हटाउनुपर्ने देखिन्छ ।