पर्यटन मन्त्रीको सफाइ अभियान विन्ध्यवासिनीमा

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किराँतीले शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर क्षेत्रमा सरफाइ अभियान चलाए ।

केही महिनादेखि हरेक शनिबार काठमाडौंको पशुपतिनाथमा सरसफाइ अभियान चलाउँदै आएका मन्त्री किराँती पोखरा आएका बेला विन्ध्यवासिनीमा अभियानलाई निरन्तरता दिएका हुन् । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत् उनले सरसफाइमा सहभागी हुन पोखरेलीलाई आह्वान गरेका थिए ।

उनले प्रतीकात्मक रुपमा कार्यक्रम गरिएको सुनाए । मन्त्री किरातीले भने, “यहाँ धेरै नै फोहोर भएकाले सफाइ गरिएको होइन, सबै प्राकृतिक, सांस्कृतिक, पर्यटकीय सम्पदा सफा राखौँ भन्ने सन्देश दिन खोजिएको हो । नेपालमा अहिले संस्कृति धेरै तवरले विकृत भएको र त्यसलाई सफा गर्नु जरुरी भएको औंल्याए ।

मन्त्री किराँतीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, सुरक्षा निकाय र स्थानीयले साथ दिएका थिए । मन्त्री किराँतीले मन्दिरमा भेटिएका केही सर्वसाधारणसँग मन्दिरको अवस्था र तत्काल गर्नुपर्ने कामबारे पनि सोधेका थिए । समितिका सचिव तीर्थ श्रेष्ठले मन्त्री किराँतीको अभियानले आफूहरुलाई ऊर्जा र उत्साह थपेको उल्लेख गरे ।