डागर स्मृति प्रतिष्ठान नेपालले आठौं वार्षिक साधारण सभाको अवसरमा युवा वैज्ञानिक र अग्रज समाजसेवीलाई पुरस्कृत एवम् सम्मानित गरेको छ ।
प्रतिष्ठानले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको १० हजार ५ सय राशिको डागर स्मृति पुरस्कारबाट युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत बनेकी छन् । मौलिक संस्कार संस्कृतिको संरक्षण गर्दै प्रतिष्ठानलाई उल्लेख्य योगदान दिएका दिने समाजसेवी प्रेमचन्द उपाध्याय डागर स्मृति संरक्षक सम्मान अग्रज समाजसेवी तथा सफल व्यवसायी प्रेमचन्द उपाध्यायलाई गरिएको छ।
कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषा नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक हुन् । उनी नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक र परियोजना संयोजकसमेत छिन् ।
समाजसेवी उपाध्याय पोखराको ब्राण्ड बनेको न्यू मारवाडी सेवा भोजनालयका संस्थापक हुन् । उनीहरुलाई गण्डकी मेडिकल कलेजका मेडिकल सुपरिटेण्डेन्ट प्राडा टुमाया घले, अग्रज साहित्यकार सरुभक्त, पुरस्कार संस्थापक रमा पराशर र संस्थापक अध्यक्ष हिरादेवी बास्तोलाले सम्मान गरे ।
प्राडा घलेले एउटी नारीको साहसले अर्की नारी पुरस्कृत हुनु गौरवको कुरा भएको बताइन् । अग्रज साहित्यकार सरुभक्तले सत्यको अन्वेषणमा लागेकी खगोल विज्ञानकी प्रतिभाको योगदानलाई पुरस्कृत गरेर प्रतिष्ठानले सराहनीय कार्य गरेको बताए ।
कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ जेका पूर्व गभर्नर योगेन्द्र प्रधान, पूर्व सम्मानित व्यक्तित्व भीम रानाभाट, लायन्स क्लब अफ पोखरा समर्पणकी अध्यक्ष शर्मिला श्रेष्ठ, कलम साकोसका अध्यक्ष अर्जुन पोखरेल, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्की अध्यक्ष कविन्द्र पोखरेलले डागर र रमा पराशरको जीवनकथा तथा व्यक्तित्वमाथि प्रकाश पार्दै पारे ।
रमा पराशरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रतिष्ठानका परिकल्पनाकार दीपेन्द्र श्रेष्ठ, सचिव असफल गौतम, कोषाध्यक्ष पुष्पकुमारी आचार्य लगायतले बोलेका थिए ।




