पोखरा–१३, भद्रकालीमा शनिबार मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पाखुरीकोट गुरुङ समाजको आयोजनामा भएको शिविरमा ३ सय ७ जनाको सित्तैमा जाँच गरिएको हो ।
पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अरु सबै प्रकारका जाँचमा समेत ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मानिसमा अक्सर देखिने स्वास्थ्य समस्या, ती समस्या निराकरणका लागि अपनाउनुपर्ने पूर्वसावधानी, उपचार र जीवनशैलीबारे प्रकाश पारे ।
डा अधिकारीले स्वास्थ्यबारे सचेत भए धेरै रोग र समस्या आफैं कम हुने बताए । उनले रोग लागिहाले पनि विशेषज्ञको सल्लाहमा उपचार गरी निको हुन वा नियन्त्रणमा राखी सामान्य जीवन बाच्न सकिने औंल्याए ।
प्रदेशसभा सदस्य वेदबहादुर गुरुङ ‘श्याम’ले युआरएलले विभिन्न संघ, संस्थासँग मिलेर समुदाय तहमा सेवा दिनु सराहनीय भएको बताए । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले प्रदेशको पहिलो, अग्रणी र एकमात्र आइएसओ सर्टिफाइड ल्याब भएकाले व्यवसायसँगै जनस्तरसम्म चेतना र सेवाका लागि यस खालका कार्यक्रम गर्ने गरिएको जनाए ।
उनले अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी भएका १ सय ५१ शिविरबाट १ लाख ७० हजारभन्दा बढी सेवाग्राहीले सित्तैमा सेवा पाएको जानकारी दिए । अहिले केन्द्रीय कार्यालयसहित १४ शाखा र ९ नमुना संकलन केन्द्रबाट युआरएलले सेवा दिइरहेको छ । पोखराको लेकसाइडमा १५ औं शाखा असोज १ गतेबाट सञ्चाल गर्ने तयारी छ ।
पाखुरीकोट गुरुङ समाजका अध्यक्ष हरिध्वज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पाखुरीकोट महिला समूहकी अध्यक्ष सीतादेवी गुरुङ, सचिव केशबहादुर गुरुङ लगायतले बोलेका थिए ।