अपांग महिलालाई सामूहिक बलात्कार आरोपमा २ युवा पक्राउ

स्याङ्जामा ३२ वर्षीया अपांग महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा २ युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले महिलालाई बलात्कार गरेको आरोपमा पुतलीबजारका २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङलाई पक्राउ गरेको हो ।

परिवारको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामाले जानकारी दिए । प्रहरीका अनुसार घटना भदौ २० गतेको हो ।

बौद्धिक अपांग भएकी ती महिलालाई आफ्नै घरमा बसिरहेको अवस्थामा सामूहिक बलत्कार गरेको भन्दै परिवारको भदौ २८ गते प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा सुवास र मदनलाई २८ गतेनै प्रहरी पक्राउ गरेको थियो ।

‘परिवारबाट २८ गते उजुरी पर्‍यो । उजुरीपछि हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका छौं । सोही दिननै ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ सूचना अधिकारी लामाले भने ।

उनीहरुलाई जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुसन्धान प्रक्रिया भइरहेको छ ।