पोखरा-मोफसलको सर्वाधिक पुरस्कार राशीको चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आगामी असोज ५ र ६ गते लालितपुरको सानेपामा हु्दैं छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुरस्कार राशी ओभरअल च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
बुल्समेन क्लब पोखरा तीन संस्करणका प्रतियागिता पोखरामै आयोजना गरेको थियो । खेलकुदलाई विकेन्द्रीकरण गर्नुपर्ने ध्येयसहित क्लबले पहिलो पटक पोखरा भन्दा बाहिर ललितपुरमा आयोजना गर्ने निर्णय गरेको हो । मोफसलकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको लागि विभिन्न शहरबाट खेलाडीले अनलाईन मार्फत फर्म दर्ता गरिरहेका छन् । क्लबले २०७१ सालदेखि दुई वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । चौथो संस्करण ०७७ सालमै आयोजना गर्ने तयारी भएपनि कोभिडकै कारण प्रतियोगिता स्थगित गरिएको थियो ।
‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तलाई खेलकुलप्रति प्रेरित गरेको छ । स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकता र व्यस्त मानसिकताको लागि स्वस्थ्य शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको छ । क्लबले आगामी असोज ४ गते सहभागि खेलाडीको तौल लिने छ । पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । असोज ५ गते प्रिजजिङ र असोज ६ गते शनिबार सानेपास्थित हेरिटेज गार्डेनमा फाईनल हुने क्लबले जनाएको छ ।
मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराईने क्लबका कोषाध्यक्ष रुपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार महिलाको इभेन्टलाई पनि समावेश गरिएको छ । महिला तर्फ वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा गराईने छ ।
प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थानमा रहनेले २० हजार नगद पुरस्कार पाउने छन् । मेन्स फिजिकको दुवै इभेण्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै वुमन फिजिक र वुमन वेलनेस विजेताले पनि समान १ लाख, ५० हजार र ३५ हजार पाउने छन् ।




