पोखरा र हिमाल नियाल्न हट एअर बेलुन

बर्खाका कारण सेवा बन्द रहेको हट एयर बेलुनको सेवा ३ महिनापछि पुनः सञ्चालनमा आएको छ । हट एअर बेलुन बिहीबारबाट पुनः सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए ।

यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले सेप्टेम्बरबाट उडानमा २ बेलुन प्रयोग गर्ने छ । साहसिक खेल रूचाउने पर्यटकको माग अनुसार २ बेलुनबाट उडान गर्न लागिएको अध्यक्ष बादेले बताए । हट एयर बलुनमा उडेर पर्यटकले पोखराको दृश्यावलोकन गर्छन् ।

पोखराको पामेमा सञ्चालित यसमा एक पटकको उडानका लागि आन्तरिक पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १ सय अमेरिकी डलर र विदेशी पर्यटकका लागि १ सय ३० अमेरिकी डलर शुल्क लिने गरिएको छ ।
करिब ६ हजार फिट माथिसम्म बेलुन सयरमार्फत उड्दा माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिमाल, पूर्ण आकारको फेवाताल, पुम्दीकोट महादेव, सराङकोट, मान्द्रे ढुंगाबाट उड्ने प्याराग्लाइडिङ र पोखरा उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

कम्पनीले सेवा सञ्चालनका लागि अमेरिकी र भियतनामी गरी २ पाइलट राखेको छ । बिहान र बेलुका गरी २ सिफ्टमा उडान हुन्छ । बिहान ५ देखि ९ बजेसम्म र दिउँसो ३ देखि साँझ ६ बजेसम्म उडान गर्ने गरिएको छ ।

प्याकेजमार्फत पर्यटकले ब्रेकफास्ट, लेकसाइडदेखि पामेसम्मको दुईतर्फी यातायात सुविधा र प्रमाणपत्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस अन्तर्गत बेलुन रिजर्भ गर्ने इच्छुकका लागि आधा घन्टाको ५५ हजार र १ घन्टाको ८० हजार रुपैयाँ शुल्क छ ।