बसुन्धरा पार्ककाे १० राेपनीमा ग्रिन भेन्चर जोन बनाइने

फोहोर व्यवस्थापनमा बारम्बार समस्या खेप्दै आएको पोखरा महानगरमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले ग्रिन भेन्चर जोन बनाउने भएको छ ।

महानगरकै स्वामित्वमा रहने यो जोन बसुन्धरा पार्कको करिब १० रोपनीमा बन्नेछ ।
जोनका लागि कोइकाले ९.८ मिलियन डलर र युएनडिपीले ०.८७ मिलियन डलर लगानी गर्ने छन् । जोनका लागि महानगरका फोकल पर्सन नेत्र तिमिल्सिनाले नकुहिनेबाट फोहोर व्यवस्थापनको नमुना केन्द्र र पर्यटकीय स्थलको रुपमा यसलाई विकास गरिने अवधारणा सुनाए । फेरि प्रयोग नहुने वस्तुहरुलाई प्रशोधनमा पठाउने र प्रयोग हुनेलाई अरु विभिन्न वस्तु बनाउने योजना छ ।

महानगरपालिका र कोइकाबीच रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धता पत्रमा बिहीबार हस्ताक्षर भएको हो । प्रतिवद्धतामा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाका उपप्रमुख युनयंग लीले हस्ताक्षर गरेका छन् ।

कोइका र महानगरपालिकाबीच ३० अगस्ट २०२३ मा परियोजनाको प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेको छ । कोइकाले हरित अर्थतन्त्रमा योगदान पु¥याउन दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिन यो परियोजना चलाएको उपप्रमुख लिले बताए । आरयु उद्यमहरूलाई बढवा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले आवश्यक मानव संसाधनको व्यवस्था गर्ने समझदारी भएको छ ।

उपप्रमुख लीले यस परियोजनाले युवाका लागि रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । ‘फोहोर मैला उचित व्यवस्थापन गरी हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोगका लागि यो नमुना परियोजना बन्नेछ,’ लीले भने ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोहोर मैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको सुनाए । ‘यो परियोजनाले युवालाई रोजगारीसँग जोड्नेछ भने फोहोरबाट मोहोर आर्जन हुनेछ,’ उनले भने । पोखरा महानगरले अहिले पोखरा ३२ को लामेआहालमा अस्थायी रुपमा फोहोर विसर्जन गर्दै आएको छ ।