पोखरा आइपुग्यो पूर्वका राई र पश्चिमकाे दलित प्रेमको कथा

लेखक प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’माथि शुक्रबार पोखरामा परिचर्चा गरिएको छ । परिवर्तनका लागि कार्य नेपालद्वारा आयोजित कार्यक्रममा उपन्यासकार राईसँग हसिना बस्नेतले संवाद गरिन् ।

प्रश्नोत्तरका क्रममा लेखक राईले सामाजिक न्याय र लैंगिक समानताको मुद्दालाई पुस्तकमा उठाइएको सुनाइन् । ‘खोटाङकी राई महिला र बैतडीका दलित पुरुषबीचको प्रेम र त्यसमा आउने उतारचढावमा कथा घुमेको छ’, उनले भनिन्, ‘उपन्यासको पात्र र चरित्रले नेपालको पूर्व–पश्चिमलाई जोड्छ ।’

दशर्कदीर्घाबाट उठेको प्रश्नमा लेखक राईले किताबमा पश्चिमको कथा कम आइरहेको देखेर आफू पात्र खोज्दै बैतडी पुगेको उल्लेख गरिन् । उनले जन्मिँदै निर्वासित भएर जन्मनुपर्ने विवश महिलाको वंशको अधिकारबारे उपन्यासमार्फत आवाज मुखरित गर्ने प्रयास गरेको सुनाइन् ।

लेखक राईले महिला–पुरुष दुवैको समान हक र स्वतन्त्रताका पक्षमा आफू सधैँ उभिइरहने प्रतिवद्धता गरिन् । पुँजीवादले महिलाई बन्धनमा राखेको भन्दै त्यसकाप्रतिको विद्रोहका रूपमा पनि ‘थाङ्ग्रा’ उपन्यासलाई लिन सकिने उल्लेख गरिन् ।

सहजकर्ता बस्नेतले महिलाका मुद्दामा लेखिएको ओजिलो कृतिका रूपमा ‘थाङ्ग्रा’लाई चित्रण गरिन् । उनले उपन्यासको कथानक र पात्रले आफूलाई प्रभावित बनाएको जनाइन् । ‘पुस्तकमा हास्य रस पनि उत्तिकै भेटिन्छ, पढ्दै जाँदा कथाले आफैँ डो¥याउँछ’, बस्नेतले भनिन्, ‘भाषाको छनोट र शिल्पले पनि पुस्तकलाई सरल बनाएको छ ।’

लेखक राईको यो उपन्यास मदन पुरस्कारका लागि उत्कृष्ट ५ मा परेको छ । राईका यसअघि ‘लेखककी स्वास्नी’, ‘बिर्सिएको मृत्यु’ लगायत कृति प्रकाशित छन् । आयोजक संस्थाकी अध्यक्ष गीता लामिछाने विष्टले नेपाली समसामयिक र ज्वलन्त मुद्दालाई लेखक राईले उपन्यासमा लिपिबद्ध गरेको विचार राखिन् ।