बागलुङको गलकोटमा पुराना गीत र गाउँका भाका सुन्दै हुर्किइन् सीता केसी । उनका बाआमा दुवै गीत गाउँथे । त्यस बेला अहिले जस्तो न सोसल मिडिया थिए, न आम सञ्चारको पहुँच । बाआमा प्रेमबहादुर \ उजेली गाउँका उत्सव, मेला, जात्रामा गाउँथे ।
त्यस बेला एल्बम निकाल्नु निकै ठूलो कुरा थियो । दुर्गम गाउँमा जन्मिएका प्रेम र उजेलीले त्यो विरल अवसर पाएनन् । धन्न उनीहरुको गीतको किताब भने निस्किएको छ । बाआमाको संगीतको रहर अहिले उनीहरुका छोराछोरीले पूरा गरिदिएका छन् ।
प्रेम÷उजेलीका सबै सन्तान सांगीतिक क्षेत्रमा छन् । आफ्ना अधुरा रहर सन्तानले पूरा गरेको धेरै समय उनीहरुले हेर्न पाएनन् । प्रेमको निधन भएको ९ महिना भयाे, सीताले ३ वर्ष अघि नै आमाको काखसमेत गुमाएकी थिइन् ।
यसपालिको तीजमा सीता २ तीजगीत लिएर आएकी छन् । एउटा गीतको एरेन्ज उनका दाइ कृष्णले गरेका हुन् भने अर्काे गीत एरेन्ज गरी भाइ मदनले भरथेग गरेका छन् । उनका तीजगीत लै बरी लै र हेर त साइली दुवै अहिले चर्चित छन् ।
दुवै गीत धिताल फिल्मस् एन्ड म्युजिक कम्पनी प्रालिले आयोजना गर्ने तीज म्युजिक अवार्डमा दुवै उत्कृष्ट ५ मा परेमा छन् । हेर त साइलीबाट उनी सर्वाेत्कृष्ट तीजगीत गायिकाको मनोनयनमा परेकी छन् भने लै बरी लैबाट उनी सर्वाेत्कृष्ट तीजगीत लयमा छानिएकी छन् ।
लै बरी लैको शब्द र संगीत सीताकै हो भने स्वरमा जय देवकोटाले साथ दिएका छन् । यस्तै हेर त साइली बोलको गीतमा पनि शब्द, लय र संगीत उनकै हो ।
उनी गीत, संगीतले मानिसलाई पहिचान दिने र अमर बनाउने विश्वास गर्छिन् । जीवनको तेस्रो दशक नाघेकी सीतामाथि अहिले परिवारकी जेठी छोरी भएकाले आमाकै जिम्मेवारी निर्वाह गर्नुपर्ने दायित्वसमेत छ । उनी भन्छिन्, ‘गीतमा असल बुहारी भएर घर, परिवार संहाल्नुपर्ने सन्देश दिन खोजेकी हुँ । अचेल नेपाली घर, परिवारको सम्बन्धको बन्धन कमजोर हुँदै गएको देखेकी छु ।’
सीताले २ वर्षअघि पनि ‘सै नाच्यो’ बोलको तीजगीत बजारमा ल्याएकी थिइन् । अहिलेको तीजगीतमा यो पर्वलाई मौलिक र परम्परागत रुपमा मनाउनुपर्ने सन्देश दिएकी छन् ।
‘मलाई अमेरिका यही’बाट चर्चाको शिखरमा पुगेकी सीता केसी अहिले लै बरी लै र हेर त साइली बोलका म्युजिक भिडियो लिएर आएकी छन्
उनले ‘ज्यान टाढा हुँदा’ बोलको क्यासेट पनि निकालेकी थिइन् । अहिले क्यासेट निकाल्न पर्दैन, म्युजिक भिडियो बनायो, सञ्जालमा राखिदियो, पुग्यो । उनले पनि त्यही बाटो पछ्याएकी छन् । उनका पिरतीको डोरी, छलछल पानी, वारी तरौं, भाग्ले नि ढाट्यो जस्ता गीत चर्चित छन् ।
गायक पशुपति शर्मासँग गाएको मलाई अमेरिका यही बोलको गीत उनका लागि टर्निङ प्वाइन्ट बनिदियो । अहिलेसम्म उनले दुई दर्जनभन्दा बढी पुरस्कार र सम्मान पाएकी छन् । आधा दर्जन अवार्डबाट सम्मानित बनिसकेकी छन् ।




