बिहीबार दिउँसो पोखरा २४ कास्कीकोटको भारदारी चौतारीमा मानिस जम्मा हुन थाले । घर घरबाट दही ल्याएर भाडामा राखे । जम्मा भएर भजनकीर्तन थाले । कोही श्रीकृष्ण बने, कोही राधा ।
कोही कोही त कंस पनि देखिए । कोही दही एकापसमा छेपाछेप गर्दै थिए, केही भने दही खानै मस्त थिए । कृष्णचरित्रको चलचित्रको झल्को दिने यो दृश्य सोमबार कास्कीकोटको हो । ऐतिहासिक कास्कीकोटमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा दहीको होली खेलिएको हो ।
भगवान श्रीकृष्णको जन्म भएको भोलिपल्ट परापूर्व कालदेखि नै कास्कीकोटमा दही जात्रा हुँदै आएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समिति सचिव ठाकुरप्रसाद त्रिपाठीले दहीजात्रासँगै विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा, भजकीर्तनसमेत भएको बताउँछन् ।
भारदारी चौतारामा परापूर्व कालदेखि दहीजात्रा गर्ने चलन छ । दही छेपाछेप गर्नुअघि भारदारी चौतारामा रहेको चाँपको रुखलाई श्रीकृष्ण मानेर पूजा गरिन्छ । त्रिपाठी, रानामगर, दुवाडी र अधिकारीले दहीले विभिन्न क्षेत्रपाल, चण्डी, वराहा, बहासा, मनकान्छी लगायत मन्दिरमा पूजा गर्दै हिड्ने परम्परा रहेको त्रिपाठी बताउँछन् ।
करिब २ किलोमिटरको यात्रामा जात्रा गरेर बासपानी कालिका मन्दिरमा विधिवत रुपमा जात्रा समापन हुन्छ । दही जात्रा सम्पदा संरक्षण मञ्च कास्कीकोट र स्थानीयले जात्रा आयोजना गरेका हुन् ।
कास्कीकोटमा मात्रै श्रीकृष्णको जन्म भएपछि दहीको जात्रा निकाल्ने चलन छ । जात्रा संरक्षण तथा प्रवद्र्धन गर्न पोखरा महानगरपालिका वडा नं. २४ ले सघाउने वडाध्यक्ष भरतबहादुर अधिकारीले प्रतिवद्धता गरे ।




