समाजवादी मोर्चाका शीर्षस्थ नेताहरुले अहिले मोर्चा बने पनि भविष्यमा एउटै पार्टी र एउटा लक्ष्यमा पुग्न सक्ने औंल्याएका छन् । उनीहरुले कम्युनिस्टहरुले फुट्नमात्र नभएर जुट्न पनि
जुट्न पनि जानेको सुनाए ।
अनेक फुट र वैमस्यबाट आएको नेपाली कम्युनिस्ट आन्दोलन फेरि मोर्चामार्फत् एकीकरणको मार्गमा पुग्ने उनीहरुको विश्वास छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधारशीला निर्माण गर्न मोर्चा बनाइएको जनाउँदै पार्टी एकतासम्म पुग्ने र जनताको सपना साकार पार्ने उद्घोष गरे ।
‘हामी सत्तामा रहेका तीन पार्टी र आन्दोलनमा रहेको विप्लवजीको नेकपाबीच मोर्चा बनेको छ । अहिले मोर्चा हो, भविष्यमा एकीकरण लक्ष्य छ,” उनले भने ।् सरकारले अहिले अनेक दबाब झेल्दै भ्रष्टाचार र अनियमितताको अनुसन्धान गरिरहेको प्रधानमन्त्रीको भनाइ छ । तर, जति दबाब झेल्नेपरे पनि सरकारपछि नहट्ने उनले प्रष्ट पारे ।
‘दोषी कोही छुट्दैन, निर्दाेष पर्दैन । प्रचण्डले खुट्टा कमाउँला भन्ने कसैलाई लागेको भए, त्यो सत्य होइन । प्रहरी र सिआइबीलाई त्यो बाटोमा प्रचण्ड देखियो भने पनि नछाड्नूस् भनेको छु,” प्रचण्ड भन्छन् । अहिलेका अनुसन्धानलाई लडाइँको उपमा दिँदै प्रधानमन्त्रीले त्यो लडाइँलाई अन्तिम निष्कर्षमा पु¥याएरै छाड्ने दृढता जनाए ।
प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार निरन्तर लागेको र केही सकारात्मक संकेतसमेत देखिएको उल्लेख गरे । आफ्नो आसन्न चीन भ्रमणमा पूर्वाधार, कृषि, पर्यटन र नाका सञ्चालनलाई मुख्य एजेन्डा हुने उनको भनाइ छ । “चीन भ्रमणमा कोरला र गोरखाको रुइला नाका सञ्चालनका लागि पहल हुनेछ । साथै, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधै नियमित चिनिया जहाज उडान गर्न आग्रह गरिनेछ,” उनले भने ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मोर्चाले समाजवादी क्रान्तिलाई सम्पन्न गर्ने आधारशीला बनाइरहेको जनाए । अध्यक्ष नेपालले भने, “अहिले देशको अवस्था कहालीलाग्दो छ, कामै गरेर देखाउनुपर्ने अवस्था छ । अहिलेको सरकारले चालेका कदमले जनतामा थोरै भए पनि सकारात्मक सन्देश प्रवाह भएको छ ।”
नेकपा महासचिव नेत्रविक्रम ’विप्लव’ले माओवादीहरुले फुट्नमात्र होइन, जुट्नसमेत जानेको सुनाए । महासचिव विप्लवले नेकपा सरकारमा जाने, सांसद भन्ने भन्दा पनि समाजवादको लक्ष्यमा रहेको उल्लेख गरे । “हामीलाई सरकारमा जाने लोभ छैन । बाहिर फैलाइएका हल्लामा सत्यता छैन, हामी समाजवादमा जान चाहन्छौँ, सरकारमा होइन’ उनी भन्छन् ।
उनले कम्युनिस्ट आन्दोलमा आएका अस्थायी फुटहरु निर्णायक मोडमा एकतामा बद्लिने जनाए । आफूहरुलाई निरन्तर घेराबन्दी गरिएको दाबी गर्दै उनले मोर्चा निरन्तर अघि जाने वाचा गरे । उनले भने, ‘हामी सँगै अघि जान्छौं । आउँदो दशक समाजवादको दशक, एकताको दशक हुनेछ ।’
जसपा कार्यकारी सदस्य शिवलाल थापाले अहिलेको संघीयता र संविधानले देशका सबै समस्या समाधान गर्न नसक्ने जनाए । उनले पहिचानमा आधारित संघीयताको आवश्यकतामा जोड दिए ।
नेकपा पोलिटब्युरो सदस्य राजन सीले धेरै जिज्ञाशाका बीच मोर्चाअघि बढेको जनाउँदै नेपाली कम्युनिस्ट आन्दोलनका समस्या र देशका समस्या समाधान गर्न मोर्चा जरुरी भएको सुनाए ।





