२३ वर्षपछि बाघजात्राः को को बन्दै छन् राजारानी र बाघ ?

पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ । यस पटकको बाघजात्रा करिब लाखले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

यसपालि बाघजात्रा आयोजना गर्न पोखरा महानगरपालिका, वडा कार्यालय, नेवा छें लगायतले साथ दिएका छन् । जात्रालाई महानगर र नेवाः खल कास्कीले संरक्षकत्वमा दिएका छन् ।

बाघजात्रा आयोजक समिति २०८० संयोजक जवाहरलाल श्रेष्ठले पोखरा महानगरपालिकासहित आसपास अरु पालिकाका प्रमुख, प्रदेश सरकार, सभासदसहित बाहिरी जिल्लाबाट पनि अतिथि, दर्शक र मेलामा सहभागिता रहने जानकारी दिए । कलाकारहरु अहिले जात्राको तयारीको अन्तिम चरणमा रहेको संयोजक श्रेष्ठले बतँए । जात्रामा भूमिका निर्वाह गर्ने कलाकारलाई यसले पहिचानसमेत दिने गरेको थियो ।

यसपालिको जात्रामा राजाको रुपमा कलाकार जीतेशमान गुमाजू र रानीको रुपमा कलाकार शिवानी श्रेष्ठ गुभाजू छन् बाघको भूमिका सुरेश खड्गीले निर्वाह गर्दै छन् । हरेक दिनको जात्रा नेवा छेंबाट सुरु हुनेछ । जात्रा संयोजक जवाहरलालले पहिलो दिन गणेशटोल, मोहरिया टोल हुँदै बगर क्षेत्र, दोस्रो दिन पृथ्वीचोक र तेस्रो दिन पोखरा रङ्गशालामा जात्रा देखाइने जनाए ।

लेखक रवीन्द्र माकाजू यो जात्रा पोखराकै प्रतिष्ठाको विषय भएको बताउँदै जीवनमा एक पटक हेर्नैपर्छ भन्नेहरु धेरै पाएको सुनाए । सपालिको बाघजात्रामा सहभागी हुन भक्तपुर नगरपालिकाले ५० जनाको ‘घिन्ताघिसी’ जात्रा टोली पोखरा पठाउँदै छ । बागलुङबा हनुमान नाच देखाउने टोली आउँदै छ ।

०५७ को बाघजात्रामा तेर्सापट्टीका रामप्रसाद श्रेष्ठ राजा बनेका थिए । दोस्रो दिन उनका छोरा शिव राजा बने । २०१४ सालमा बालकृष्ण बड्गामी, २०२२ सालमा हेमबहादुर प्रधान राजाको भूमिकामा थिए ।
यो जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ । गाउँ गाउँमा बाघले धेरै दुःख दिएपछि राजालाई यसबारे जानकारी दिइएको र राजाले सेनासहित आएर बाघ मारेको भनाइ छ । बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा मनाउने गरिएको हो ।