सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै ज्यान गयो

बैतडीमा विषालु सर्पले डसेकी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका १ सेरीकी ५५ वर्षीया पार्वती घटाल छिन् ।

मङ्गलबार राति उनलाई खाना पकाउँदै गर्दा सर्पले टोकेको थियो । बुधबार दिउँसो उनको मुत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए । सर्पको टोकाइबाट गम्भीर भएकी घटालको झारफुक गर्दागर्दै मृत्यु भएको हो ।

‘हामीलाई भर्खर मात्रै थाहा भयो, सर्पले टोकेपछि झारफुकको साटो अस्पताल लगेको भए ती महिलाले अकालमै ज्यान गुमाउनु पर्दैन्थ्यो होला,’ कार्की भन्छन् ।

बैतडी जिल्ला अस्पतालमा सर्पदंशको उपचार हुन्छ । पञ्चेश्वरमा सर्पको टोकाइबाट यस वर्ष ३ जनाको ज्यान गइसकेको छ ।