ऋषिलीला पत्रकारिता पुरस्कार २०८० बाट लेखक रवीन्द्र माकाजू सम्मानित भएका छन् । पोखरा वृद्धाश्रमको शनिबार आयोजित २६ औं वार्षिक साधारणसभामा प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारी लगायतले उनलाई पुरस्कृत गरेका हुन् ।
पोखरा वृद्धाश्रमबाट सञ्चालित यो पुरस्कारको राशि नगद २५ हजार र सम्मानपत्र छ ।
लेखक माकाजूका ५ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । ज्येष्ठ नागरिकको हकहितबारे कलम चलाउने लेखक÷पत्रकारलाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ । यो पुरस्कारबाट यसअघि चट्याङ मास्टर, हरि बास्तोला र दीपेन्द्र श्रेष्ठ सम्मानित भइसकेका छन् ।
कार्यक्रममा वत्ताहरुले संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरे पनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हकअधिकारबाट बञ्चित भएको जनाए । सांसद भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्नेमा जोड दिइन् । उनले ज्येष्ठ नागरिकप्रति पहिलो दायित्व परिवार र दोस्रो दायित्व राज्यको भएको औंल्याइन् ।
प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उनीहरुले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।
पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तर रुपमा लागेको सुनाए । ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले सुनाए ।
सो अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गाैला लगायतका रोगको उपचारका लागि सहयोग पुु¥याउन छोरा ध्रुुवको स्मृतिमा १ लाखको स्वास्थ्य कोष स्थापनार्थ सो रकमको चेक हस्तान्तरण गरे ।






