ईश्वरमणिको सम्बोधिका सार्वजनिक

पोखरेलीले २०३५ माघ २० गते २ रुपैयाँको टिकट काटेर मुक्तक सुनेका थिए । टिकटमा मुक्तक सुन्ने परम्परा थालनी गरेको पोखरामा शनिबार नयाँ मुक्तक कृति सार्वजनिक भएको छ ।

डा ईश्वरमणि अधिकारीको मुक्तक सञ्चयन ‘सम्बोधिका’ पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा अग्रज साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतले सार्वजनिक गरे ।
एक सय एघार मुक्तक रहेको यो डा अधिकारीको तेस्रो कृति हो । कार्यक्रममा साहित्यकार सरुभक्तले पछिल्लो पुस्ता रुवाई शैलीका मुक्तकमा बढी प्रवृत्त भएको जनाउँदै संस्कृत शैलीबाट आएको पारम्परित शैली चटक्कै बिर्सन नहुनेमा जोड दिए ।

साहित्यकार तीर्थ श्रेष्ठले मुक्तक लेखनमा संरचनाको घेराले थिचिनुभन्दा मर्ममा ध्यान दिन सुझाए । मुक्तककारहरुले नै मुक्तकलाई बन्दी जस्तो बनाएको उनको भनाइ छ । ‘मुक्तक दुई लाइन, चार लाइनका पनि हुन्छन्, हामीले सात लाइनमा पनि लेखेका छौँ । संरचनामा मात्रै ध्यान दिँदा विधाको मर्म र भाव मर्न सक्छ,” उनले भने ।

समीक्षक सञ्जीव पौडेलले कृतिमा दार्शनिक प्रेममा समर्पित आधा मुक्तक र बाँकी राजनीतिक विसंगतिमाथि प्रहार र जीवनका मुक्तक भएको जनाए । उनले मुक्तकका भाव र संरचना दुवै पक्षमा सचेत अधिकारीको संग्रह पाठकका लागि उपयोगी रहेको जनाए ।

मुक्तककार डा अधिकारीले आफूले भन्नुपर्ने कुरा मुक्तकमै उल्लेख गरेको सुनाए । उनले भने, ‘मैले आफूले भन्नुपर्ने कुरा पुस्तकमै भनेको छु । अब समीक्षक र पाठकका सुझाव सुन्छु । यहाँहरुको सुझाव, सल्लाहले थप परिष्कृत हुँदै नयाँ कृति दिन्छु ।’

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल केही वर्ष स्थगित भएको टिकटमा मुक्तक कार्यक्रम यसै वर्षबाट फेरि थालिने घोषणा गरे ।
कार्यक्रममा लोकगायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, साहित्यकार सरस्वती प्रतीक्षा, दीपक समीप, जीवनसागर भण्डारी, डा चैतन्य अधिकारी, प्राञ्जल, रीता अधिकारी ऋतु, लगायतले बोलेका थिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।