नयाँ आर्थिक वर्षको दोस्रो महिना सुरु हुँदा स्थानीय तहहरु नयाँ योजना कार्यान्वयनको पूर्व तयारीमा छन् । यही मेसोमा पोखरा महानगरपालिका वडा नं. १७ ले वडाका टोल विकास संस्था र सरोकारवालासँग छलफल गरेको छ ।
कार्यक्रममा सहभागीलाई वडामा परेका योजनाहरु कार्यान्वयन प्रक्रियाबारे प्रशिक्षण दिइएको छ । इन्जिनियर रवीन्द्र गोदारले अब सञ्चालन हुने आयोजनामा हुन सक्ने प्राविधिक त्रुटि र उपभोक्ता समिति गठनका प्रावधानबारे प्रकाश पारे ।
पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीले १७ नम्बर वडा महानगरमा राजस्व संकलनदेखि योजना कार्यान्वयन र बजेट पाउनेमा पनि अरु वडाभन्दा अघि रहेको उल्लेख गरिन् । उनले शुक्रबार ०८०÷०८१ मा वडा स्तरीय र महानगरबाट पोखरा १७ मा परेका योजनाहरु कार्यान्वयनमा तदारुकताका साथ लाग्न आग्रहसमेत गरिन् ।
‘गत आर्थिक वर्ष हामीले ९६.९३ प्रतिशत बजेट खर्च गरेका छौं । यसपालि पनि उपभोक्ता समिति गठनदेखि योजना कार्यान्वयनसम्मका अवस्थाबारे तपाईहरुसँग छलफल गरी अझ उत्कृष्ट परिणाम निकाल्ने अपेक्षा छ,’ उनले भनिन् । अध्यक्ष योगीले अहिले वडा र महानगर स्तरीय योजनामा नपरेका अति जरुरी काम भए अनुसूची ६ मा राखेर बजेट व्यवस्थापन गर्न पहल गर्ने आश्वासनसमेत दिइन् ।
वडा सदस्य शिवराम भण्डारीले यो वर्ष सञ्चालन हुने योजनाबारे जानकारी दिन सँगसँगै उपभोक्तालाई जागरुक बनाउँदै गुणस्तरीय विकास, निर्माणका लागि कार्यक्रम आयोजना गरिएको जनाए । वडा सचिव मञ्जु ढुंगानाले गत वर्षको वडाको योजना कार्यान्वयनको अवस्था र यो वर्षका कार्यक्रमबारे प्रकाश पारिन् । उनले वडामा अहिले १ हजार १ सय ८५ सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही भएको तथ्यांक पेश गरिन् ।
यसपालि सवा ३ करोडका योजना
यो आर्थिक वर्षमा पोखरा १७ मा ३ करोड २२ लाख ५० हजारका वडा स्तरीय योजना तय भएका छन् । मानवीय विकास, सीमान्तकृत समुदायको सशक्तीकरण, भौतिक निर्माण, लक्षित वर्गलाई सहयोगसहित खेलकुदलाई वडाले प्राथमिकता दिएको छ ।
अन्तर विद्यालय वडास्तरीय फुटबल, वडा स्तरीय ब्याडमिन्टन, अन्तर विद्यालय वडा स्तरीय खुला दौड, महिल भलिबल, ज्येष्ठ नागरिक मैत्री खेलदेखि योग शिविरका लागि समेत वडाले बजेट विनियोजन गरेको छ । वडाभित्र पर्यटन प्रवद्र्धन गर्न ड्यामसाइडमा नयाँ वर्ष महोत्सव गरिने भएको छ । त्यसका लागि वडाले २ लाख बजेट राखेको छ । सबैभन्दा धेरै पूर्वाधारतर्फ २ करोड १३ लाख बजेट छ ।
गत वर्ष ९७ प्रतिशत खर्च
पोखरा १७ मा गत आर्थिक वर्ष वडास्तरीय बजेट २ करोड ७२ लाख थियो । त्यसमध्ये पुँजीगततर्फ ९७.४२ र चालु ९५.३८ प्रतिशत खर्च भई वडाले कुल बजेटको ९६.९३ प्रतिशत खर्च गरेको थियो । आर्थिक वर्ष ०७९÷०८० मा वडामा ४ करोड ३६ लाख ८ हजार ६ सय १० रुपैयाँ राजस्व संकलन भएको छ ।
२ हजार ५ सय ३२ नयाँ घरका नक्सा प्रक्रियामा गएकोमा ४ सय १९ ले घर सम्पन्न प्रमाणपत्र लिएका छन् । वडामा वर्षभरी २ हजार ६ सय २० घटना दर्ता भएका छन् । वडामा गत वर्ष ३ हजार ३ सय ५० मिटर बाटो ढलान र पिच भएको छ । योजनामा जनसहभागिता ३८ लाख ९३ हजार ८ सय ७३ जुटेको थियो ।
गत आर्थिक वर्षमा महानगर स्तरीय योजनामा लागि महानगरबाट ८ करोड १८ लाख २२ हजार १ सय ३४ रुपैयाँ बजेट आएकोमा जनसहभागिता २ करोड ३४ लाख ८६ हजार ४ सय ८२ रुपैयाँ जुटेको छ । यो बजेटबाट ५ हजार ५ सय ६ मिटर बाटो ढलान र पिच र ६ सय मिटरमा खानेपानी लाइन विस्तारसहित अरु योजना बनेका छन् ।




