शनिबार राति पोखरा २५ हेमजाबाट प्रहरीले साढे ५ केजी अफिमसहित ३ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ का ४१ वर्षीय दिपेश पुन र सोही पालिका वडा नं. १ का ४० वर्षीय विराज पुन छन् । सँगै बागलुङको निसिखोला ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनलाई प्रहरीले पक्रेको छ ।
उनीहरुको साथबाट ५ केजी ७ सय ग्राम अफिम र ३ थान मोवाइल बरामद भएको प्रहरीले जनाएको छ । तीनै जनाउपर लागुऔषध कसूर मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट २० दिनको म्याद लिई अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रीवणकुमार विकले बताए ।
उनीहरुले अफिम पूर्व रुकुमदेखि बेचबिखनका लागि पोखरा ल्याएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले निगरानी गरेको थियो । राति १० बजेतिर अफिम लिएर हिडिरहेका दिपेशलाई उनीहरुलाई नियन्त्रणा लिएको प्रहरीले जनाएको छ । सोही कारोबारमा संलग्न तेजेन्द्रबहादुर पुन र बिराज पुनलाई समेत शनिबार राति नै पोखरा ६ लेकसाइडबाट पक्राउ गरिएको प्रवक्ता विकले जानकारी दिए ।






