पोखरा चरकमा सुरु भयो ओपन हार्ट सर्जरी

गण्डकी प्रदेशमा पहिलो पटक ओपन हार्ट सर्जरी सफल भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ उपप्रध्यापक डा. अनील भट्टराईको नेतृत्वमा पोखराको चरक मेमोरियल अस्पतालमा गत शुक्रबार सर्जरी भएको हो ।

पोखरा २० भलामका ४५ वर्षीय विष्णु गौतमको मुटुको ओपन हार्ट सर्जरी गरिएको हो । यसअघि यो सर्जरीका लागि काठमाडौं र चितवनमा जानुपर्ने बाध्यता थियो । २६ साउनमा सर्जरी भएका गौतम आइतबार डिस्चार्ज हुँदै छन् ।

गौतमको मुटुको दुई ठूला नसा ब्लक भएकाले हात र घाँटीको नसा मुटुमा हालेर सर्जरी गरिएको हो ।सर्जरी सफल हुँदा विष्णुकी श्रीमती रीता निकै प्रशन्न छिन् ।

‘मुटुको ओपन हार्ट सर्जरी सुरु भएको छ, यसलाई निरन्तरता दिनुपर्छ,’ डा भट्टराईले भने । अस्पतालको पहिलो सर्जरी निशुल्क गरिएको महानिर्देशक कपिल पोखरेलले सुनाए । यो सर्जरीका लागि ५ देखि ६ लाख खर्च हुने अस्पतालले जनाएको छ ।

यो सेवा सुरु गर्न अस्पतालले ३ करोड खर्च गरेको महानिर्देशक पोखरेलले जानकारी दिए ।सर्जरीका लागि एक महिनाअघि सरकारबाट अस्पतालले स्वीकृति लिइएको थियो । डाक्टर भट्टराई नेतृत्वको टोलीमा डाक्टरहरु कृष्णप्रसाद बस्याल, अर्जुन गुरुङ र मणीन्द्र बस्नेत सामेल थिए । आगामी दिनमा कुनै बिरामीको पोखरामै ओपन हार्ट सर्जरी गर्नुपरे डा भट्टराईलाई बोलाइने भएको छ ।