कास्कीका विद्यालयमा मंगलबार बिदा दिइने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले सोमबार सूचना निकालेर गुरुङ समुदायको परम्परागत पर्व ट्होंटेमा बिदा हुने जनाएको हो ।
इकाइ प्रमुख लोकराज आचार्यले तमु धीं नेपालको अनुरोधपछि स्थानीय बिदाबाट कट्टा हुने गरी मंगलबार बिदा दिन पत्रचार गरिएको जानकारी दिए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा ट्होटेमा बिदा दिइएको थियो ।
इकाइ प्रमुख आचार्य भन्छन्, ‘विगतमा प्रदेशमा बिदा दिइएको थियो । पहिले शिक्षा कार्यालयले दिने गरेको थियो । स्थानीय तहका शिक्षा प्रमुखहरुसँग समन्वय गरेर सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरु सहभागी हुने र संस्कृति बुझ्ने भन्दै अनुरोध आएकाले पत्रचार गरेका छौं ।’
तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले मंगलबार रानीपौवामा भेला भएर झाँकी, बाजागाजासहित महेन्द्रपुल, नयाँबजार हुँदै तमु धींको कार्यालयमा आएर ¥याली सभामा परिणत हुने जानकारी दिए । तमु धीमा पोखरा महानगर र संस्थाको लगानीमा बनेको ‘रोधी हल’समेत उद्घाटन गर्ने कार्यक्रम तय छ ।
पोखरामा तमु संघ, संस्थाहरको अगुवाइमा साउन र चैत महिनाको अन्तिम मंगलबार ट्होंटे मनाउने गरिएको छ । विगतमा गाउँबस्तीलाई सुरक्षित राख्न, दृश्य, अदृश्य बैरी हटाउने मनाइने ट्होटेको स्वरुप अहिले फेरिएको छ ।
तमु धीं अध्यक्ष गुरुङ भन्छन्, ‘अहिले पनि विभिन्न खालका सामाजिक विभेद छन्, विकृति, विसंगति छन् । सामाजिक न्याय छैन । तमुले समान अधिकार प्राप्त गरेका छैनन् । सबै नकारात्मक कुरालाई समाजबाट हटाउँदै समतामूलक समाजको माग गर्दै हामी ट्होंटे मनाउँदै छौं ।’




