आयल निगमका हामिक नै चोरीमा संलग्न !

चोरी आरोपमा छानबिनमा पर्ने भएपछि आयल निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरी गरी बिक्रीका लागि लैजादै गरेको ट्यांकर बिहीबार नियन्त्रणमा लिएको थियो ।

गगनगौंडामा रहेको निगमको डिपोबाट इन्धन पश्चिमाञ्चल पेट्रोल पम्प लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्यांकर नियन्त्रणमा लिइएको थियो । त्यो्याङ्कर डाँडाकोनाक प्रहरी चौकीमा राखिएको छ । १२ हजार लिटर क्षमताको त्यो ट्यांकरमा थप ३ हजार लिटर इन्धन भरिएको थियो ।

ट्यांकर नापजाँच गर्दा ३ हजार लिटर बढी इन्धन भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । बरामद गरिएको ३ हजार लिटर डिजलको बजार मूल्य करिब ४ लाख ५९ हजार छ ।

कास्की प्रशासनले शुक्रबार यो घटना थप अनुसन्धानका लागि अख्तियारमा पठाएको छ । अख्तियार गण्डकी प्रमुख बद्रिकुमार कार्कीले छानबिनअघि बढिसकेको जानकारी दिए ।

निगम गण्डकीका सूचना अधिकारी श्रीधर लामिछानेले बिहीबारदेखि नै दाससम्पर्कमा नरहेको जनाए । कार्यालयको नियमित काम भने चलिरहेको उनको भनाइ छ ।

चोरीमा प्रयोग भएको ट्याङ्कर बाबुराम जमरकट्टेलको भएको खुलेको छ । जमरकट्टेलसमेत घटना सार्वजनिक भएपछि सम्पर्कविहीन छन् । उनविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको स्रोतले जनाएको छ ।