प्रदेशको मोडल फेर्नैपर्छः अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय उपाध्यक्ष डिपी अर्यालले अहिलेको प्रदेश संरचना कामकाजी नभएको उल्लेख गर्दै त्यसको मोडेलमा परिमार्जन जरुरी भएको टिप्पणी गरेका छन् । आगामी आमनिर्वाचनअघि नै प्रदेश संरचनाको नयाँ मोडल तयार गरी जनतामा जाने योजना उनले सुनाए ।

‘अहिलेको प्रदेश संरचना कामकाजी भएन । नेताहरुलाई व्यवस्थापन गर्ने ठाउँ जस्तो देखियो, आगामी आमनिर्वाचनअघि नै प्रदेशको कस्तो मोडेल राम्रो हुन्छ भन्ने खाकासहित जनतामा जान्छौं,’ उनले भने । उनले अरु दलका राम्रा कुरा सिक्ने र नराम्रा पक्ष त्याग्दै वडादेखि केन्द्रसम्मै पार्टी संगठन बनाउने अभियानमा आफूहरु रहेको अर्यालको भनाइ छ ।

संघीय संसद अवरुद्ध नगर्न र सबै एजेन्डामा त्यही छलफल गर्न उनले अनुरोध गरे । प्रतिनिधिसभा सदस्यसमेत रहेका अर्यालले कसैको निहीत स्वार्थका लागि सदन बन्धक बन्न नहुने टिप्पणी गरे । गण्डकी प्रदेशमा रास्वपाले आयोजना गरेको प्रशिक्षण सुरुआत गर्दै उनले सदनलाई बन्धक बनाएर सेवा, सुविधा लिनु जायज नहुने विचार राखे ।

सांसद अर्यालले भने, ‘जे जे विषयवस्तु छन्, सदनमै छलफल गरौँ । करिब तीन करोड नेपालीका प्रतिनिधि हामी सांसदले निहीत स्वार्थमा सदन अवरुद्ध गर्न मिल्दैन ।’

सांसदहरुलाई बोलाएर दिनभर पर्खाउने र शीर्ष नेताहरुको छलफलमा निष्कर्ष ननिस्केको भन्दै सदन स्थगित गरिनु नहुने उनको भनाइ छ । २०८४ सालको निर्वाचनबाट एकल बहुमत सहितको सरकार बनाएर जनताका समस्या समाधान गर्दै मुलुकको कायापलट गर्ने उनको दाबी छ । रास्वपाले कुनै पनि व्यक्ति एउटै पदमा २ कार्यकाल भन्दा बढी नरहने विधान बनाएकाले सोही अनुसार पार्टीका सबै संरचनामा काम हुने उनको जिकिर छ ।

रास्वपा प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले नयाँ नेपाल निर्माणको अभियान पूरा गर्न मिसन ८४ मा आफूहरु रहेको उल्लेख गरे । शनिबारसम्म चल्ने प्रशिक्षणमा प्रदेश कमिटी सदस्य, विभागका सदस्य, पालिका पदाधिकारी, जिल्ला प्रदाधिकारी गरी २ सय ५० जना सहभागी रहेको पार्टीका गण्डकी प्रदेश सभापति राजन गौतमले बताए ।

सहभागीलाई उपसभापति अर्याल, केन्द्रीय प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाह, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, अर्थनीति विभाग प्रमुख डा स्वर्णीम् वाग्ले, प्रतिनिधिसभा सदस्यहरु मनिष झा, शिशिर खनाल, सन्तोष परियार लगायतले प्रशिक्षण दिने तय छ । सभापन कार्यक्रमलाई सम्बोधन गर्न स्वास्वपा केन्द्रीय सभापति रवि लामिछानेले आउने कार्यक्रम छ ।