रोजिना र अनुरागलाई बाल साहित्य पुरस्कार

कौशिलादेवी भण्डारी बाल साहित्य पुरस्कारबाट विद्यार्थीद्वय अनुराग सापकोटा र रोजिना अधिकारी सम्मानित भएका छन् । अनुराग शितलादेवी मावि पोखरामा कक्षा ८ मा पढ्छन् भने रोजिना महेन्द्र मावि लाहाचोककी कक्षा १० की छात्रा हुन् ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले संस्थाको वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा अग्रज लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानकी संस्थापक सल्लाहकार डा पुष्पा केसी भण्डारी लगायतले पुस्रकार प्रदान गरेका हुन् ।
डा पुष्पाले आफ्नी सासू कौशिलादेवीको स्मृतिमा स्थापना स्थापना गरेको यो पुरस्कारको राशि नगद १० हजार ५ रुपैयाँ छ । नारी वाङ्मय प्रतिष्ठानकी सल्लाहकार पुष्पादेवी भण्डारीले पुरस्कृत रोजिना र अनुरागलाई प्रोत्साहन गर्दै जनही ५ हजार थप गरिदिइन् ।

कार्यक्रममा अग्रज गायिका कोइरालाले अहिलेका बालबालिका भोलिको युग संवाहक भएको बताइन् । उनले भनिन्, ‘अहिलेका बालबालिकामा भोलि देवकोटा, लेखनाथ बन्ने सम्भावना लुकेको हुन्छ । प्रतिभा र सिर्जनालाई उजागर गर्ने अवसर प्रतिष्ठानले प्रदान गरिरहोस् ।’

पुरस्कारी संस्थापक डा केसीले सासू, बुहारीको सम्बन्ध प्रगाढ र आत्मीय हुनुपर्छ भनेर आफूले पुरस्कार स्थापना गरेको सुनाइन् । उनले ऊ बेला पनि नारीलाई पढाउनुपर्छ भन्ने चेतना सासू कौशिलादेवीमा रहेको सम्झना गरिन् ।

संस्थाकी अध्यक्ष छन्दिका त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा लोकगायिका अम्बिका भण्डारी, प्रतिभा छनोट समिति संयोजक सरस्वती श्रेष्ठ ‘सरु’, साहित्य शृंखला पोखराकी अध्यक्ष लक्ष्मी थापा, साहित्यकार छन्दमणि त्रिपाठी, रुपा अधिकारी, अनुराग सापकोता, पुरस्कृत प्रतिभा अनुराग र रोजिना, बाबुराम अधिकारी, शुभ शर्मा, अभिप्सा सापकोटा लगायनतले बोलेका थिए ।

बालबालिकालाई साहित्यप्रति रूचि जगाउने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो । नेपाली कला, साहित्य क्षेत्रमा योगदान दिने व्यक्तित्वको खोजी साथै नेपाली भाषा, संस्कृतिको उत्थानका लागि स्थापित पुरस्कारको व्यवस्थापन नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले गर्दै आएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।