पत्रकार महासंघको शुद्धिकरणविरुद्ध अन्तरिम आदेश भएन

कास्कीमा पत्रकार शुद्धीकरणबारे परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश दिएन । न्यायाधीश रमेशप्रसाद राजभण्डारी र ऋषि राजभण्डारीको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश जारी नहुने ठहर गरेको हो ।

नेपाल पत्रकार महासंघ कास्की सदस्य ईश्वरी पौडेलले नेपाल पत्रकार महासंघ कास्की र सोको कार्यसमितिलाई विपक्षी बनाउँदै १६ साउनमा उच्चमा रिट दायर गरेकी थिइन् । पत्रकार महासंघको निर्णय चित्त नबुझे निवेदकले पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित नै देखिएको आदेशमा उल्लेख छ ।

अन्य विषयमा विपक्षीबाट लिखित जवाफ पेसपछि अन्तिम आदेश हुँदा सम्बोधन हुने आदेशमा उल्लेख छ । उच्च अदालतले अन्तरिम आदेश जारी गर्नु किन नपर्ने हो भनी साउन ४ को निर्णयसहितको सोसँग सम्बन्धित सक्कल फाइल र पत्रकार महासंघ गण्डकीले साउन ९ को निर्णयसहितको सक्कल फाइल पेस गर्न कारण देखाऊ आदेश दिएको थियो ।

सोमबार भएको बहसमा रिट निवेदकको तर्फबाट अधिवक्ता ईश्वरी पौडेल, वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, अधिवक्ताहरु लक्ष्मण शर्मा, बलराम उपाध्याय रेग्मी, विष्णुप्रसाद अधिकारी लगायतले बहस गरेका थिए । विपक्षी महासंघको तर्फबाट विष्णुप्रसाद शर्मा, नारायणप्रसाद शर्मा, विष्णुप्रसाद लम्साल, भक्ति घिमिरे र वेदबहादुर बिष्टले बहस गरे ।

यसअघि पत्रकार महासंघ कास्कीमा ३ सय ८ जना सदस्य थिए । महासंघ कास्कीले शुद्धीकरणको मापदण्डभित्र पर्ने भन्दै २ सय १६ जनाको नाम प्रदेश महासंघमा सिफारिस गरेको थियो । महासंधको प्रदेश समितिले जिल्लाको सिफारिसमा थपघट गर्दै १ सय ८४ जना सदस्य कायम गरेको छ ।