सामुदायिक सेवा केन्द्रमा कमलको नेतृत्व

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकको २३ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेसनले कमलबहादुर श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार भएको अधिवेशनले श्रेष्ठको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चुनेको हो । समितिमा निवर्तमान अध्यक्षमा धर्मदत्त आचार्य पदेन सदस्य छन् । कार्यसमितिका उपाध्यक्षमा मुना बास्तोला, सचिव उत्तम जोशी, सहसचिव सीमा राई गुरुङ र कोषध्यक्षमा तीर्थ शर्मा ढकाल चुनिएका छन् ।

कार्यसमिति सदस्यमा पार्वती पौडेल, राजेन्द्र वाग्ले, सूर्य बञ्जरा, गौरी पौडेल, गीता भण्डारी, कृष्ण गिरी, रोशन मानन्धर, सुनिता केसी र केशवप्रसाद ढकाल निर्वाचित भएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख नायब प्रहरी महानिरीक्षक बुद्धिराज गुरुङले नेपाल प्रहरी र समुदायको सम्बन्ध अपरिहार्य हुने विचार राखे ।

कार्यक्रममा समाजसेवी भक्तराज श्रेष्ठलाई सामुदायिक वर्ष पुरस्कारबाट सम्मानित गरिएको छ भने पूर्व अध्यक्ष विपिन अधिकारीलाई सामुदायिक वर्ष व्यक्तिबाट सम्मान गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले विकृति, विसंगतिरहित समाज, हाम्रो अभियान भन्ने संस्थाको मूल नारा सार्थक बनाउन नागरिक र प्रहरी मिलेर कार्यक्रम गरिने सुनाए । जनचेतनामूलक कार्यक्रम, सचेतनामूलक कार्यक्रम गरिने उनले उल्लेख गरे ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।