पोखरामा आँखा पाक्ने प्रकोप, समस्या आए यसो गर्नाेस्

पोखरामा केही दिनयता आँखा पाक्ने रोगको सङ्क्रमण बढेको छ । हिमालय आँखा अस्पताल घारीपाटनमा आँखा परीक्षण गर्न आउने आँखा पाक्ने रोग भएका बिरामीको संख्यमा उल्लेख्य बढोत्तरी भएको हो ।

यस वर्ष आँखा पाक्ने समस्या बढी देखिएको अस्पतालकी स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जनाइन् । ‘दिनमै करिब १ सय जनामा आँखा पाक्ने रोग भएका बिरामी जाँचका लागि आइरहेका छन्,’ उनले भनिन् ।

ती बिरामीमा आँखा रातो हुने, आँशु आउने, बिझाउने, चिप्रा लाग्ने जस्ता समस्या देखिएको छ । आँखा परीक्षण गरी डाक्टरको सल्लाह अनुसार उपचार गर्न डा श्रेष्ठले सुझाएकी छन् ।

जथाभावी औषधिको प्रयोग र आँखा नमिच्न उनले अनुरोध गरिन् । आँखा पाक्दैमा आत्तिनु नहुने र एक हप्तामा सञ्चो हुने उनको भनाइ छ ।

आँखको सङ्क्रमण भएका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, मोबाइल, चश्मा, औषधि लगायतका सामग्री साटासाट गर्दा यो रोग चाडै फैलिन्छ । पोखरामा रोगको अवस्था र बाच्ने उपायबारे जानकारी दिन हिमालय आँखा अस्पताल पोखराले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै छ ।