राउटेलाई गण्डकी सरकारको ५० हजार

देशका विभिन्न स्थानमा घुम्दै पोखरा आइपुगेको राउटे समुदायको टोलीले आइतबार गण्डकीका मुख्यमन्त्रीलाई भेटेको छ । चार सदस्यीय राउटेको टोलीले मुख्यमन्त्रीलाई काठबाट बनेको चौका उपहार दिएको छ ।

आजीविकाको लागि गास, बास कपासको जोहो गर्न समस्या भएको भन्दै टोलीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग सहयोगको अपेक्षा सुनाएको थियो । टोलीले आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार प्रदान गरे । उनले राउटे समुदायले भोग्नुपरेका समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतबारे जानकारी लिएका छन् ।

राउटे समुदायले नेपाल सरकारको तर्फबाट खान, बस्नमा निरन्तर सहयोगको अपेक्षा गरेको अगुवा लालबहादुर शाहीले बताए । राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्ष पनि बिभिन्न प्रदेशबाट सहयोग संकलन गरिरहेको उनको भनाइ छ । सरकारले सहयोग गरेको रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने शाहीले सुनाए ।