पोखरा उद्योग वाणिज्य संघले गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको मिति तय भएको छ । संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म मेला गर्ने सार्वजनिक गरेको हो ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघ अध्यक्ष पवन प्रजापतिले मेलाको मिति तय गरी तयारीसमेत सुरु गरिएको जानकारी दिए । पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला हुनेछ । अध्यक्ष प्रजापतीले मेला गण्डकी प्रदेशमा व्यवसाय विस्तार र प्रदेशको पर्यटकीय सम्भावना खोज्न केन्द्रीत हुने सुनाए ।
देशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिँदै आएको छ । समारोहमा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आय–व्ययसमेत सार्वजनिक गरिएको छ ।
मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य १ सय २० वटा स्टल गरी कुल दुई सय ५० स्टल थिए । मेलामा विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको छ । विभिन्न शीर्षकमा १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भई १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष प्रजापतीले बताए ।
बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्च गरिने संघले जनाएको छ ।




