कास्कीका १८ हजार पशुलाई लम्पी स्किन

कास्कीमा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको संक्रमण देखिएको छ ।

३ हजार ७ सय ७६ बाच्छाबाच्छी, १२ हजार २ सय ७८ गाई, १ हजार ७ सय २८ गोरु, १ सय ४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए । संक्रमणबाट हालसम्म ६ सय १९ पशुबस्तु मरेका छन् । सबैभन्दा बढी संक्रमण गाईमा देखिएको छ ।

जिल्लामा हालसम्म १६ हजार ३ सय ५४ पशुलाई लम्पी स्किन विरुद्धको खोप दिइएको छ । प्रमुख पाण्डेका अनुसार यो रोग विशेषतः गाई, गोरु, राँगाभैँसी, पाडापाडी र बाच्छबाच्छीमा लाग्छ । पछिल्ला समयमा जिल्लामा लम्पी स्किन रोगको संक्रमण घट्दो क्रममा रहेको प्रमुख पाण्डेले जानकारी दिए ।