
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले काङ्ग्रेस संघीयतामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको विचार राखेका छन् । उनले कांग्रेस आफ्ना मूलभूत एजेन्डाबाट विचलित भएको दाबीसमेत गरे ।
“प्रजातन्त्र, राष्ट्रियता र समाजवाद”को मुख्य एजेन्डबाट पर गएर काङ्ग्रेसले कम्युनिस्टका एजेन्डा आत्मसात् गरेको उनको आरोप छ । बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेसले समाजवाद उन्मुख अर्थतन्त्र स्वीकार्नु कम्युनिस्को एजेन्डा मान्नु भएको तर्क गरे ।
देशको अर्थतन्त्र र शासन व्यवस्था निकै कमजोर हुँदासमेत दलहरु विभिन्न स्वार्थमा विभक्त भएको भन्दै उनले चिन्ता जनाए । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्ने, निर्माण सम्पन्न भइसकेका योजनामा भुक्तानी दिन नसक्ने अवस्थाबाट देशलाई माथि उठाउन सबैको सहकार्य जरुरी हुने उनको भनाइ छ ।
््नेपाली काङ्ग्रेसको आगामी मंसिरमा हुने नीति अधिवेशनमार्फत् कांग्रेसलाई सही दिशामा हिडाउने प्रयत्न गर्ने उनले सुनाए । अहिलेको निर्वाचन प्रणाली खर्चिलो र बोझिलो भएका परिवर्तन गर्नुपर्नेमा उनको जोड छ । “संघीयताबारे पुनर्विचार गरौं । अहिलेको निर्वाचन प्रणालीमा पनि परिवर्तन गरौं । समानुपातिक, समावेशी प्रतिनिधित्व राष्ट्रिय सभामा गरौं, प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित गरौं,” उनी भन्छन् ।
कांग्रेस र कम्युनिस्टहरुले बारम्बार एकल बहुमत ल्याएर पनि पाँच वर्ष सरकार चलाउन नसकेको दृष्टान्त पेश गर्दै उनले अस्थिरताको प्रमुख कारक वैदेशिक हस्तक्षेप भएको उनको दाबी छ । “०४६ पछि कांग्रेसले दुई पटक र नेकपाले एक पटक बहुमत पाए । विडम्बना कसैले पूरै अवधि सरकार चलाउन सकेनन्,” उनले भने ।