बर्दीमा टिकटक बनाउने प्रहरीलाई कारवाही

कास्की प्रहरीले गएको आर्थिक वर्षमा ४९ प्रहरीलाई विभिन्न खालका कारवाही गरेको छ । तीमध्ये दुई जना बर्खास्तीमा परेका छन् । प्रहरी पोशाकमै टिकटक बनाउने सात प्रहरी पनि कारवाहीमा परेको प्रवक्ता श्रवणकुमार विकले बताए ।

टिकटक बनाउने अर्का एक प्रहरीमाथि छानबिन जारी छ । यो अवधिमा कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने ८९ प्रहरी पुरस्कृत भएका छन् । यो अवधिमा कास्कीमा बैंकिङ अपराध निकै बढेको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा पाँच सय १७ बैंकिङ कसुरका मुद्दा परेका छन् । अघिल्लो वर्ष एक सय ४९ उजुरी दर्ता भएका थिए ।

कास्की प्रहरीमादर्ता घटनामध्ये बैंकिङ कसूरका मात्र २९.८ प्रतिशत छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पत्रकार सम्मेलन गरी अघिल्लो आर्थिक वर्षका गतिविधि र सम्पादन गरेका कामबारे जानकारी दिएको हो । कास्कीमा वर्षभरी एक हजार ७ सय २४ घटना दर्ता भएकोमा एक हजार एक सय ४९ फस्छौट भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रविधिको प्रयोगसँगै साइबर अपराध पनि बढेको छ । अघिल्लो आर्थिक वर्षमा साइबर अपराधका दुई सय ९७ उजुरी दर्ता भएकोमा गएको आर्थिक वर्षमा चार सय १९ उजुरी परे । अनलाइन ठगीमात्रै उजुरीको संख्या चार सय दुई रहेको कास्की प्रहरीले जनाएको छ । अनलाइनमार्फत् चार करोड ३५ लाख ठगी भएको उजुरी परेकोमा ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ पीडितले फिर्ता पाएका छन् ।

कास्कीमा नेपाल प्रहरीको एक हजार एक सय नौ जनाको दरबन्दी छ । कास्कीमा दरबन्दीभन्दा १५ प्रतिशत बढी प्रहरी कार्यरत छन् । जिल्लाको सुरक्षा अवस्थालाई मजबुत बनाउन चार सय ८८ वटा ग्रामीण गस्ती गरिएको प्रहरीले जनाएको छ । वर्षभरीमा प्रहरीले ४१ केजी गाँजा, तीन केजी तीन सय ग्राम चरेस बरामद गरेको छ ।

कास्की प्रहरी प्रवक्ता विकले पोखरा प्रदेशको राजधानी, यो क्षेत्रको मुख्य व्यापारिक, पर्यटकीय र आवागमनको केन्द्र भएकाले लागुऔषध कारोकारको जोखिमयुक्त क्षेत्रमा पर्ने दाबी गरे ।