बागलुङ बजारमा एक हप्ता अगाडिसम्म पैदल यात्रु तथा सवारीसाधनलाई नै अवरोध हुनेगरी ठेलागाडामा तरकारी, फलफूल, चटपट लगायतको खुल्ला व्यापार चोकचोकमा देखिन्थ्यो तर आजभोलि यस्तो व्यापार कतै देखिदैन । यसको कारण हो बागलुङ नगरपालिकाको फुटपाथ तथा खुल्ला व्यापार नियन्त्रण अभियान ।
साँगुरो बजारको सडकमै जथाभावी ठेलागाडा तथा सडक व्यापाकै कारण सवारी आवागमन, ट्राफिक व्यवस्थापन, दुर्घटनाको जोखिम बढ्ने भन्दै बागलुङ नगरपालिकाले बजार व्यवस्थापनमा निर्मम बन्न थालेको छ । गत आर्थिक वर्ष देखीनै सुचना, माइकिङ गर्दै खुल्ला व्यापार हटाउन गरिएको निर्देशनको अवज्ञा गर्दै व्यापारीले अटेरी गरेपछि ठेलागाडा नै जफत गर्न सुरु गरेको बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
गत बुधबारदेखि सुरु गरेको नगरपालिकाले ५ दिनमा दुई दर्जनभन्दा बढी ठेलागाडा जफत गरेको हो ।
जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरी सहितको टोलीले पसल छेउमा राखिएका साङ्केतिक बोर्डहरु समेत जफत गर्ने गरिएको नगरपालिकाले जनाएको छ ।
बढ्दो बजार र सवारी चापका कारण पैदल यात्रुलाई हिड्न एवं ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएपछि नगरपालिकाले ४ महिना अगाडिदेखि पटकपटक जानकारी, सुचना तथा निर्देशन दिएपनी अटेरी गरेपछि यसको नियन्त्रणमा निर्मम बन्न बाध्य भएको बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो ।
नगरपालिकाले ठेलागाडाको अलावा सडक छेउमा ठड्याइएका साइनबोर्ड, बिक्रीवितरणका लागि सडक पेटीमा राखिएका सामाग्री समेत जफत गर्ने गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको यो अभियान नियमित हुनेमा भने नागरिकहरूले शंका व्यक्त गरेका छन । केही वर्ष अगाडि नगरपालिकाले यस्तै अभियान चलाएको स्मरण गर्दै एक फलफुल व्यावसायीले नगरपालिकाको यो अभियान केही दिन रहेको त्यसपछि जस्ताको तस्तै हुने गरेको अनुभव सुनाए ।
आइतबार नगरपालिकाको टोलीले सडक अवरोध नहुनेगरी सडक छेउमा राखेका सामाग्री उठाएपछि भने आलोचना हुन थालेको छ ।
यात्रु एवं सवारी आवागमनको कुनै वास्ता नगरी शहरका चोकचोक देखि सडक छेउमा जथाभावी मकै, फलफुल बेच्ने, ठेलागाडामा पानीपुरीको व्यापारका कारण हजारौं भाडा तिरेर व्यापार गर्ने व्यावसायी मर्कामा पर्ने गरेकाले यो अभियानमा नगरपालिका संयमित हुँदै निरन्तर लागि रहनुपर्ने व्यावसयीले माग गरेका छन् । नगरपालिकाको यो अभियानले अर्को बहस पनि छेडेको छ– फुटपाथ कसका लागि? केहीले गरिबमाथिको ज्यादती भनिरहँदा केहीले फुटपाथमा मनोमानी व्यापार गर्न कडाइ गर्नुपर्ने बताइरहेका छन्।
यसको दिगो समाधानमा नगरपालिकाले परिपक्व योजनाका साथ अगाडि बढ्नुपर्ने जानकारहरु बताउँछन् ।




