पर्वतको जलजला गाउँपालिकामा पर्ने कुवापानीको पहाडबाट खसेको पहिरोका कारण हाल पाँच घरपरिवार विस्थापित भएका छन् भने पहिरोको खतराका कारण सयौं घर परिवार जोखिममा परेका छन् । कमेरे माटो र ढुंगा सहित झरेको लेदो माटो पहाड भन्दा झण्डै चार सय मिटर मुन्तिर रहेको मानव बस्तीमा पसेपछि संम्भावित दुर्घनाबाट जोगिन स्थानीय विस्थापित हुन बाध्य भएका छन् ।
पहिरोका कारण जलजला गाउँपालिका वडा–२ मूलघडेरीका स्थानीय रविन शेर पुन्जा, पदम कार्की, नगेन्द्र कार्की, डम्वर बहादुर पौडेल, गम बहादुर पौडेलको परिवार विस्थापित भएका हुन् । वडा–२ का अध्यक्ष प्रकाश जिसीका अनुसार पहिरोबाट प्रभावितहरुलाई बस्ने व्यवस्था मिलाउन गाउँमै दुई वटा घर हुने व्यक्तिले एक घर खाली गरेका छन् भने केहीलाई गाउँकै आमा समूहको भवनमा बस्ने व्यवस्था मिलाइएको छ ।
जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्य सहित गत असार २१ गते पहिरो गएको स्थलको अनुगमनका लागि जिल्ला विपत व्यवस्थापन समितिको टोली पुगेको थियो । सो अनुगमन टोलीमा सहभागी रहनु भएका भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकरण पौडेल भन्नु हुन्छ–“भौगोलिक रुपमा धेरै भिरालो, बढी पानी पर्ने स्थान र भूकम्पका कारण धाजा फाटेकोले पहिरो गएको देखिन्छ । अग्लो लोप्रेको पहाडसँगै कुवापानी पहाड छ । यही कुवापानी पहाडको बसेको भागमा ५ देखि १० मिटर चौडाइको धाजा फाटेर कमेरो माटो र ढुंगा सहितको पहिरो बगेको छ । यदि पहाडमा बलियो ठुलो चट्टान पनि रहेछ र खस्यो भने यसले पार्ने क्षति धेरै गम्भीर हुन सक्छ । यसबारे भूगर्भविद्ले छिटै नै अनुसन्धान गर्न आवश्यक छ ।” प्रमुख पौडेलका अनुसार पहाडमा फाटेको धाजाको लम्वाई करीव १०० मीटर सम्म छ ।
स्थानीय पुर्ण बडुवाल भन्नुहुन्छ–“पहिरोले पुराउने धनजनको क्षति धेरै हुन सक्छ । यो वर्षाको मात्रा र पहाडबाट खसेको पहिरो बग्ने दिशाले नै पहिरोले पुराउने धनजनको क्षतिबारे भन्न सकिएला । अहिलेसम्म सयौंं रोपनी कृषियोग्य जग्गामा लगाइएको कृषिखेतीलाई पहिरोसँगै आएका कमेरे माटोको लेदोले पुरेको छ ।” पहिरोका कारण प्रत्यक्ष असरमा पर्नेमा मूल घडेरी भन्ने स्थानका बस्ती पर्दछन् । त्यसैगरी पूर्ण गाउँमा पर्ने बराह मन्दिर, बराह ताल सहित झण्डै १४ घर पहिरोबाट प्रभावित छन् भने पहिरोकै कारण कृषकले लगाएको सयौं रोपनी धान र मकै बालीमा क्षति पुगेको छ । मुसलधारे वर्षा हुँदा भने पहिरो आउने खतराका कारण पहाड मुन्तिर पर्ने सयौंको संख्यामा रहेका घरपरिवारहरु सचेत रहनुपर्ने अवस्था छ । यसले बासखर्क र गलेश्वरसम्म असर पार्न सक्ने स्थानीयको अनुमान छ । पहाडबाट खसेको पहिरो लेदो सहित बग्दै एक किलो मिटरसम्म टाढाको बस्तीमा पुगेर असर पुराएको छ ।







