पोखरा पोखरा महानगरपालिका १७ पावरहाउसमा रहेको फुस्रेखोलामा पौडी खेल्ने क्रममा युवकको मृत्यु भएको छ । फुस्रेखोलामा पौडी खेल्ने क्रममा पोखरा महानगरपालिका ८ बगालेटोल बस्ने १६ वर्षीय विवेक कुँवरको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
साथीहरुसहित विवेक खोलामा पौडी खेल्न गएका थिए । खोलामा डुबेर उनी बेपत्ता भएपछि प्रहरीलाई खबर गरिएको थियो । वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोली र सशस्त्र प्रहरी बलको टोलीले पानीभित्र खोँचमा डुबेको अवस्थामा विवेकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
सोही खोलामा गत बैशाख १६ गते पौडी खेल्ने क्रममा डुबेर पोखरा महानगरपालिका १५ नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङको मृत्यु भएको थियो ।






