नेपाली लेखक संघ कास्की अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी छन् । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १ सदस्यपछि थप गर्ने गरी ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्षमा कमल पौडेल ‘अथक’, सचिव सञ्चय न्यौपाने ‘प्राञ्जल’, सहसचिव श्रीराम अधिकारी ‘गोर्जे’ र कोषाध्यक्षमा मेघनाथ आचार्य छन् । सदस्यमा तारानाथ पराजुली, रोशन तिमिल्सिना, गोपालप्रसाद अधिकारी, मनिषा पौडेल र भेषराज पौडेल ‘उदास’ निर्वाचित बने ।
कार्यक्रमा नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज वकालत गर्दै आएको उल्लेख गरे ।
‘साहित्यमा सम्राट पनि नांगो हुन्छ’ भन्ने विपी कोइरालाको अभिव्यक्तिलाई आत्मसात् गर्दै संस्थाले निष्पक्ष ढंगबाट विचारहरू अभिव्यक्तिको पक्षपोषण गरेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाली लेखक संघ गण्डकी प्रदेश अध्यक्ष डा ईश्वरमणि अधिकारीले संघ कास्कीले स्थापना कालदेखि पाँचौँ अधिवेशनसम्म उल्लेखनीय गतिविधि गरेको उल्लेख गरे ।
नवनिर्वाचित अध्यक्ष ऋतुले नयाँ कार्यसमितिले संस्थाले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै नवीन शैलीका नयाँ कार्यक्रम थाल्ने प्रतिवद्धता जनाइन् । साहित्यकार लक्षण थापाको संयोजकत्ममा रीतादेवी कँडेल र रमेश थापा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो ।
अधिवेशनपछि काव्य गोष्ठीसमेत भएको सचिव प्राञ्जलले बताए । कार्यक्रममा नेपाली लेखक सङ्घ, कास्कीका संस्थापक अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, निवर्तमान अध्यक्ष सञ्जीव पौडेललगायतले बोलेका थिए ।




